
काठमाडौं ।
निर्वाचन आयोगले निर्वाचन कार्यालयमा सेवाग्राही उपस्थित नहुने गरी मतदाता नामावली अनलाइन दर्ता सफ्टवेयर तयार गर्न सुझाव दिएको छ। सफ्टवेयर तयार गर्ने परामर्शदाताले निर्वाचन आयोगमा बिहीबार प्रस्तुति दिँदा आयोगले उक्त सुझाव दिएको हो।
आयुक्त ईश्वरीप्रसाद पौड्यालले “आयोगले स्वदेश र विदेशमा रहेका नेपालीले मतदाता नामावलीमा नाम दर्ता गर्दा सम्पूर्ण प्रक्रिया अनलाइनमै टुङ्गिने सफ्टवेयर खोजेको” भन्दै सोही बमोजिम सफ्टवेयर परि मार्जन गर्न सुझाव दिएको बताए।
परामर्शदाताले मतदाता नामावली दर्ता सफ्टवेयर तयार भइसके पछि आवश्यक सुझावका लागि आयोगमा प्रस्तुति राखेको थियो। परामर्शदाताले तयार गरेको सफ्टवेयरमा औँलाको छाप (फिङ्गर प्रिन्ट) र तस्बिर अनलाइन राख्न नपाउने व्यवस्था छ।
आयोगले उक्त दुवै विधा थप्न सुझाव दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने। परामर्शदाताले अहिले तयार गरेको सफ्टवेयर मा नामावली दर्ता गरेपछि तस्बिर र औँलाको छाप दिन सेवाग्राही निर्वाचन कार्यालयमा जानै पर्ने बाध्यता र हने सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।
अनलाइन दर्ता टुङ्गिएपछि आयोगले स्वीकृत गर्ने र मतदाताले आफैँ परिचयपत्र छापे र राख्न पाउने विधासमेत थप्न सुझाव दिइएको छ।
“व्यक्तिगत प्रोफाइल तयार भई आयोगले दर्ता स्वीकृत गरेपछि मतदाताले कुनै समय परिचय पत्र आफैँ प्रिन्ट गर्न पाउने छन्,” सहायक प्रवक्ता अर्यालले थपे।
सेवाग्राहीले नामावली दर्तासँगै अद्यावधिक गर्ने, त्रुटि सच्याउने लगायतका कार्यका लागि भने निर्वाचन कार्यालय पुग्नुपर्छ। पछिल्लो पटक आयोगले त्रुटि सच्याउने कार्य इमेल वा फ्याक्समार्फत समेत गर्न पाउने व्यवस्था गरेको छ तर प्रभावकारी भएको छैन।
निर्वाचन आयोगले सरकारलाई आगामी मङ्सिर २ गते प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मिति तोक्न प्रस्ताव गरेको छ। सरकारले असार मसान्तसम्म निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा गरिएको छ । निर्वाचनको पूर्वसन्ध्यामा काठमाडौँ उपत्यकासहित विभिन्न सहर मा नामावली दर्ता गराउनेको भीड बाक्लिँदो छ।
ऐनबमोजिम सरकारले चुनावको मिति घोषणा गरेको दिनलाई आयोगले ‘कट अफ डेट’ मान्दै आएको छ। चुनावको मिति घोषणा भएपछि मतदाता नामावली दर्ता, अद्यावधिकलगायतको कार्य बन्द हुनेछ।
हाल जारी रहेको नामावली दर्ता कार्यक्रमकै क्रममा अनलाइन जान सकिन्छ कि भन्ने जिज्ञासामा आयुक्त पौडेलले भने, “परामर्शदाताले एकदेखि दुई साता लाग्ने बताएकाले तत्काल नहुन पनि सक्छ।”
यद्यपि आयोगले चुनावको मिति घोषणापूर्व नै अनलाइन दर्ता सुरु गर्न प्रयासरत रहेको प्रवक्ता पौडेलले बताए । उनले भने, “चुनावको मिति घोषणा हुन विलम्ब भए सफ्टवेयर तयार भइसकेको अवस्थामा अनलाइन दर्ता प्रक्रिया खुला हुन्छ।” गोरखापत्रबाट
प्रकाशित: २४ असार २०७९, शुक्रबार