
काठमाडौं ।
छिमेकी देश भारतका केही क्रिप्टो एक्सचेन्जहरू कानुनी विवादमा फसेका छन्। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले क्वाइनडीसीएक्स, वाजिरएक्स र क्वाइनस्वीच कुबेरलाई नोटिस पठाएको छ।
यी एक्सचेन्जहरूमाथि मनी लन्ड्रिंग र विदेशी विनिमय ऐन उल्लङ्घनको लागि अनुसन्धान गरिने बताईएको छ। ईडी बाहेक, विदेशी विनिमय व्यवस्थापन ऐन (फेमा) सम्बन्धित अधिकारीहरू पनि अनुसन्धानको हिस्सा हुने भारतीय मिडियाहरुले जनाएका छन्।
मिडिया रिपोर्टहरूमा भनिएअनुसार ईडीले देशमा क्रिप्टो एक्सचेन्ज कसरी काम गर्छ भनेर जान्न चाहन्छ। क्वाइनडीसीएक्स, वाजिरएक्स र क्वाइनस्वीच कुबेरले भारतको कानूनको पालना गर्ने दाबी गरेका छन् र कानून प्रवर्तन एजेन्सीहरूसँग सहयोग गर्न तयार छन्।
बजारको अस्थिरता र नयाँ कर नियमहरूको कार्यान्वयनका कारण देशमा क्रिप्टो खण्ड पहिले नै कठिनाइहरूको सामना गरिरहेको छ। यस अनुसन्धानले यी एक्सचेन्जहरूमा व्यापारिक मात्रालाई थप घटाउन सक्छ।
क्रिप्टो एक्सचेन्जहरू क्वाइनडीसीएक्स, वाजिरएक्स, बिटबिएनएस र जेबपेको व्यापार मात्रा विगत केही दिनहरूमा लगभग ५६ लाख डलरमा झरेको रिपोर्ट गरिएको छ। जून महिनासम्म, यो संख्या लगभग १ करोड अमेरिकी डलर थियो।
यस वर्षको अप्रिलदेखि भर्चुअल डिजिटल सम्पत्ति (भीडीए) बाट हुने नाफामा ३० प्रतिशत कर लागु भएको छ। त्यसबेलादेखि क्रिप्टो व्यापारीहरूलाई नाफा कमाउन गाह्रो भएको छ। यस महिनादेखि प्रत्येक क्रिप्टो लेनदेनमा एक प्रतिशत कर कटौतीको अर्थ क्रिप्टोकरेन्सीहरूको खरिद र निक्षेपमा एक प्रतिशत कर तिर्नुपर्नेछ, जसले लगानीकर्ताहरूमा दबाब थप्नेछ।
भारतीय वित्तमन्त्री निर्मला सीतारमणले भर्खरै क्रिप्टोसँग सम्बन्धित कानूनको बारेमा कुनै हतारमा निर्णय नलिइने बताएकी थिईन्। रिजर्व बैंक अफ इन्डियाले गत वर्ष क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउन आग्रह गरेको थियो। तर, सरकारले यो खण्डलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउन नदिने बताएको छ।
प्रकाशित: २४ असार २०७९, शुक्रबार