नेपालगञ्जमा ई–रिक्सा व्यवस्थापन गरिँदै

  • Technology Khabar | २२ असार २०७९, बुधबार
नेपालगञ्जमा ई–रिक्सा व्यवस्थापन गरिँदै
सांकेतिक तस्विर

काठमाडौं ।

नेपालगञ्ज बजार क्षेत्रलगायत आसपास कतिवटा ई–रिक्सा सञ्चालनमा छन्, स्पष्ट तथ्याङ्क कुनै पनि निकायसँग छैन। सो क्षेत्रमा करिब १५ हजारको हाराहारीमा ई–रिक्सा सञ्चालनमा रहेको अनुमान गरिए पनि स्पष्ट तथ्याङ्क नहुँदा व्यवस्थापनमा समस्या देखिएको छ।

अत्यधिक ई–रिक्साका कारण सबैजसो सडकमा अनावश्यक जाम लाग्ने, दुर्घटना हुने तथा अव्यवस्थित तरिकाले चलाउने र पार्किङ भद्रगोल हुन थाले सँगै ई–रिक्सालाई व्यवस्थित गर्न नेपालगञ्ज उपमहानगर पालिकाको सक्रियता बढेको छ। ठूलो सङ्ख्यामा रहेको ई–रिक्सा व्यवस्थित नभएका कारण दुर्घटना बढ्दै गएको र ट्राफिक अव्यवस्थित भएको तथा जनगुनासो आएको नगर प्रमुख प्रशान्त विष्टले बताए ।

यहाँ सञ्चालित ई–रि क्साको सही तथ्याङ्क पत्ता लगाउन आगामी साउन १५ गते भित्र सूचीकृत गरिने बताइएको छ। यस विषयमा सम्बद्ध सबै निकायसँग छलफल भइसकेको छ।

नेपालगञ्जका उपमेयर कमरुद्दिन राईले ई–रिक्सा व्यवस् थापन नगरको मुख्य टाउको दुःखाइको विषय भएको गुनासो गर्दै उचित व्यवस्थापनका लागि सबैले मिलेर काम गर्नु आवश्यक भइसकेको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले ठूलो सङ्ख्यामा रहेका ई–रिक्सा सडक जाम र दुर्घटनाको कारक बनेकाले व्यवस्थित नगरेसम्म समस्या आइरहने बताए । यहाँका चार पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनलाई जहाँ पायो त्यही पार्किङ गर्न निषेध गर्नुपर्ने र धेरै ठाउँमा एकतर्फी सवारी साधन सञ्चालन गर्नुपर्ने प्रबन्ध मिलाउनु आवश्यक भएको उनले बताए ।

व्यवस्थापनका लागि नगरमा सञ्चालित ई–रिक्साहरूको रेकर्ड राखे र नियमन गर्ने, जथाभावी गरिने पार्किङलाई व्यवस्थित बनाउने, उचित भाडादर कायम गरी कार्यान्वयन गर्ने र रुटको व्यवस्था गरिने उपमहानगर पालिकाले जनाएको छ। गोरखापत्रबाट

प्रकाशित: २२ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार