राहदानी बनाउन साइबर क्याफेमा कागज

  • Technology Khabar | २२ असार २०७९, बुधबार
राहदानी बनाउन साइबर क्याफेमा कागज

काठमाडौं ।

सिन्धुपाल्चोककी कमला तामाङ (नाम परिवर्तन)लाई छिटो विद्युतीय राहदानी बनाउनुपरेको थियो तर आफ्नो पालो आउन करिब एक साता लाग्ने भएपछि उनी कसरी छिटो बनाउने भन्ने ध्याउन्नमा दैनिकजसो नै त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आउन थालिन्।

ढोकामा बस्ने सुरक्षा गार्डदेखि राहदानी विभागका कर्मचारी भेटिने हरेक झ्यालमा पुगेर छिटो राहदानी लिने प्रयास गरिन् तर राहदानी विभागको अनलाइन प्रणालीले तोकेको मितिभन्दा अघि प्रत्यक्ष अन्तर्वार्ता र फोटो खिच्ने काम (लाइभ इनरोलमेन्ट)मा बसेर फोटो खिच्न नपाउने भएपछि उनी अर्को छोटो बाटो खोज्नतिर लागिन्।

परिसरमा त्यसरी छिटो राहदानी बनाउन खोज्ने खोज्दै हिँडेका बिचौलियासँग उनको जम्काभेट नहुने कुरै भएन । मिति फेरेर भोलि नै लाइभमा बस्न पाइन्छ भनेर बिचौलियाले उनलाई फकायो। अनि कागजपत्रसहित गोङ्गबुको एउटा साइबर सेन्टरमा पठायो । पालै मिचेर राहदानी पाइने भएपछि उनी फुरुङ्ग पर्दै साइबर पुगिन्। साइबरमा बसेका व्यक्तिले उनको अनलाइन कागजपत्र कसो–कसो गरेर सच्याइदिए । साता दिनपछि आउने पालो भोलिपल्टकै मिति लेखिदिएर पत्र प्रिन्ट गरिदिए।

त्यो मिति सच्याइएको पत्र लिएर भोलिपल्ट उनी फेरि राहदानी विभाग पुगिन्। आफ्नो अन्तर्वार्ता र फोटो खिच्ने मिति आजै भएको प्रमाण विभागका कर्मचारीलाई देखाउँदै भित्र प्रवेश गर्न खोजिन् । कर्मचारीले पालो हो कि होइन भनेर आफ्नो अनलाइन प्रणालीको कागजातसँग उनले ल्याएको पत्र रुजु गरे तर त्यहाँ त एक सातापछिको पालो थियो । “तपाईंको पालो एक सातापछि छ, यो पत्र कसरी आयो ?,” भनेर कर्मचारीले सोधे ।

कमलाले अनलाइनकै पत्र प्रिन्ट गरेर ल्याएको भनेर अडान लिइन् । केहीबेर भनाभन चल्यो । पछि उच्चस्तरका कर्मचारीले केरकार पारेपछि बल्ल उनले गोङ्गबुको साइबरबाट प्रिन्ट गरेर ल्याएको खुलाईन्।

पछिल्लो समय मिति सच्याएर अन्तर्वार्ता दिन आउने समस्या बढेपछि त्यस्ता बिचौलियालाई पक्राउ गरेर कारबाही गर्न प्रहरीको सहयोग लिएको राहदानी विभागका प्रवक्ता शरदराज अरनले जानकारी दिए। त्यसरी साइबरमा बसेर छिटो काम गराइदिने नाममा विभागको कागजपत्र सच्याउने र किर्ते गर्ने आममानिससँग अनावश्यक शुल्क असुल्ने गर्दै ठगी गर्ने एक सय जना साइबर संचालन गर्ने फेला परेको उनले बताए।

पक्राउ परेका अहिले कालीमाटीस्थित महानगरीय प्रहरी वृत्तमा अनुसन्धानका क्रममा छन् । छिटो राहदानी पाउने प्रलोभनमा बिचौलियाको फन्दामा नपर्न उनले सेवाग्राहीलाई अनुरोध गरे । विभागमा धेरै भीड गर्दा ढिला हुने भएकाले आफ्नो जिल्लामै राहदानी लिन आग्रह गरे।

विद्युतीय राहदानी लिने क्रममा यसरी साइबरमा बसेर कागजात सच्याउने र विभागको अनलाइनमा पहुँच पुर्याइने काम पुष्टि भएको खण्डमा त्यस्ता बिचौलियालाई किर्ते र साइबर अपराध दुवैथरीमा मुद्दा लाग्ने नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता नवीन्द्र अर्यालले प्रस्ट पारे । त्यस सम्बन्धमा ब्युरोसम्म सो विषय आइनसकेको समेत उनले जानकारी दिए। गोरखापत्रबाट

प्रकाशित: २२ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...