
काठमाडौं ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासा ‘सेलफोन आकारको रोबोट’ को एउटा समूह निर्माणमा जुटेको छ।
यी रोबोटहरुले बृहस्पतिको चन्द्रमा यूरोतथा शनिको चन्द्रमा एन्सेलेडसमा रहेको मोटो हिउँको सतहमुनि रहेको पानीमा एलियनहरुको उपस्थितिका बारेमा खोजी गर्ने बताइएको छ।
यी साना साना रोबोटहरुलाई हिउँ पगाल्न सक्ने एउटा उपकरणभित्र फिट गरिनेछ। उक्त उपकरणले हिउँको सतह काटेर आफ्ना लागि बाटो बनाउने मेट्रो डट सीओ डट यूकेले उल्लेख गरेको छ।
तिनीहरुले रोबोटलाई पानीमा छोडिदिने र त्यसपछि रोबोटले तैरिएर त्यहाँ एलियन जीवनको सम्भावनाका बारेमा अध्ययन गर्नेछन्। यो नवीन आइडिया नासाको जेट प्रोपल्सन ल्याबोरेटरीका इन्जिनीयर एथन शालरको रहेको बताइएको छ।
सेन्सिङ विद इन्डिपेन्डेन्ट माइक्रो-स्विमर्स एसडब्लूआईएम नामको यो कन्सेप्टलाई हालै ६ लाख डलरको सहयोग पनि प्राप्त भएको छ। शालर र उनको टोलीले आगामी दुई वर्षमा यो कन्सेप्टको थ्रीडीमा प्रिन्ट गरिएको प्रोटोटाइप बनाएर परीक्षण गर्नेछन्।
रिपोर्टका अनुसार एथन शालरको मिनी रोबोट अन्य कन्सेप्टको तुलनामा निकै सानो हुनेछ।
यिनीहरुको विशेषता भनेको एउटा प्रोब अर्थात उपकरणमा थुप्रै रोबोट अटाउन सकिनु हो। यो परियोजना सफल भएको खण्डमा पृथ्वीबाट लाखौं माइल पर रहेका हाम्रा मित्र ग्रहका उपग्रहमा जीवनको संभावना खोज्न सकिनेछ।
हाल कल्पना गरिएको प्रत्येक रोबोट १२ सेन्टिमिटर लामो हुनेर हरेक रोबोटका आ आफ्नै प्रोपल्शन सिस्टम, अनबोर्ड कम्प्युटर तथा अल्ट्रासाउन्ड कम्युनिकेशन सिस्टम हुनेछ।
यसबाहेक तापक्रम, एसिडिटी तथा प्रेसर नाप्ने सेन्सर पनि लगाइएको हुनेछ। अध्ययनको दोस्रो चरणमा बायोमार्कर अनुगमनका लागि केमिकल सेन्सर पनि लगाइने बुझिएको छ।
नासाको यूरोपा क्लिपर मिसन २०२४ मा प्रक्षेपण गरिने योजना छ। बृहस्पतिको यो उपग्रहको अध्ययनका लागि वैज्ञानिकहरु तयारीमा लागेका छन्।
तर पानीमा तैरने रोबोट कहिले सार्वजनिक हुन्छ भन्ने चाहिँ यकिन भएको छैन।
प्रकाशित: २२ असार २०७९, बुधबार