
काठमाडौं ।
एप्लका लागि आईफोन एसेम्बल गर्ने मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले नेपाली श्रमिक लैजाने भएको छ। मलेसियाको विस्ट्रन टेक्नोलोजी एसडीएन बर्हाद र नेपालस्थित म्यानपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच मंगलबार एक कार्यक्रममा द्विपक्षीय सम्झौता भएको छ।
सम्झौतापत्रमा विस्ट्रन टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार उक्त कम्पनीमा दुई म्यानपावर कम्पनीमार्फत नेपाली श्रमिकहरु शून्य लागतमा मलेसिया जान पाउनेछन्।
विस्ट्रनले आईफोनका साथसाथै एलसीडी टेलिभिजन समेत एसेम्बल गर्दछ।
मलेसियाको सो कम्पनीले पहिलो चरणमा ४५० श्रमिक लैजान लागेको छ। आकर्षण इन्टरनेशनलबाट १४० महिला र ६० पुरुष तथा लालधनुष इन्टरनेशनलबाट १७५ महिला र ७५ पुरुष श्रमिक मलेसिया जाँदैछन्। नेपाली श्रमिक मलेसिया लैजान कम्पनीको उच्च व्यवस्थापक टोली काठमाडौँमै आएको छ। बुधबार र बिहीबार श्रमिक छनोटका लागि अन्तर्वार्ता तोकिएको छ।
छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने विस्ट्रन टेक्नोलोजीका डेपुटी जनरल म्यानेजर डेभिडले बताए। “कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक छौँ”, उनले भने, “नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा ज्याला तथा अवसरमा कुनै विभेद हुनेछैन।”
सो कम्पनीको विभिन्न चीन, भारत, ताइवान, मेक्सिको, चेक रिपब्लिक, फिलिपिन्सलगायत देशमा उद्योग रहेको छ। मलेसियामा मात्रै दुई उद्योग छन्।
सो कम्पनीमा विभिन्न देशमा गरी करिब ८० हजार श्रमिक कार्यरत रहेको बताईएको छ।
प्रकाशित: २१ असार २०७९, मंगलवार