
काठमाडौं ।
चितवन मोबाइल व्यवसायी संघले सङ्गठन विस्तार तथा नयाँ समिति चयन गरेको छ। संघले सोमबार आयोजना गरेको कार्यक्रमबाट प्रकाश अर्यालको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति चयन गरेको छ।
संघको वरिष्ठ उपाध्यक्षमा केशव क्षेत्र, उपाध्यक्षहरुमा विक्रम कँडेल, रतन भट्ट, विनय श्रेष्ठ तथा श्रीधर रेग्मी रहेका छन्। त्यस्तै, सचिवमा भूपेन्द्र भट्टराई सुरेश, सहसचिवमा दीपेन्द्र खड्का, कोषाध्यक्षमा कृष्णप्रसाद न्यौपाने र सह कोषाध्यक्षमा सुरज पौडेललाई चयन गरेको उपाध्यक्ष विक्रम कँडेलले जानकारी दिए। कँडेलकाअनुसार संघले आगामी ६ महिनाभित्र अधिवेशन गरेर नयाँ कार्यसमिति घोषणा गर्नेछ।
त्यस्तै सोमबारको विस्तारित भेलाले जगदिश पन्तको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको कँडेलले बताए।
यसैबीच, सो कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले वार्षिक ४० अर्ब रुपैयाँ भन्दा बढी राजस्व चिर्ने मोबाइल व्यवसायीलाई राज्यले उपेक्षा गरेको बताए। आफूहरुले राज्यलाई धेरै कर तिर्ने गरेको भए पनि व्यवसाय सुरक्षित नभएको भट्टराईको भनाइ छ।
उनले मोबाइल व्यवसायीले देशभरमा एक लाख ५१ हजार व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रोजगार दिएको बताए। उपभोक्ताको हितलाई ध्यानमा राखेर गुणस्तीय उत्पादन मात्रै बिक्री गर्नुपर्ने उल्लेख गर्दै भट्टराईले आफूहरुको नाफाको प्रतिशत बढाउनका लागि सबै एकजुट हुनुपर्ने बताए।
सो कार्यक्रमका वक्ताहरुले अहिले मोबाइल बिक्रेताहरुले बढीमा पाँच प्रतिशतसम्म मात्रै मुनाफा पाउने गरेको भन्दै यो प्रतिशत बढाउन दबाब दिनुपर्नेमा जोड दिएका थिए।
प्रकाशित: २१ असार २०७९, मंगलवार