
काठमाडौं ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषका योगदानकर्ताका लागि स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँँवरले सोमबार अनलाइनमार्फत उक्त सेवाको शुभारम्भ गरेका हुन् ।
सो सेवा सुरु भएसँगै योगदानकर्ताले उपत्यकाका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन र काठमाडौँ मेडिकल कलेजलगायत देशभरका २६ वटा अस्पतालमा बिनाझन्झट स्वास्थ्य सेवा लिन सक्नेछन् । यी अस्पतालमा सेवा लिन योगदानकर्ताले कोषमा योगदान गरेको नम्बरसहितको परिचयपत्र देखाए मात्र पुग्नेछ।
यसअघि श्रमिकले अस्पतालले दिएको बिल कोषमा बुझाएर भुक्तानी लिँदै आएका थिए । सुरुवाती चरणमा विभिन्न २६ ओटा अस्पतालसँग कोषले सम्झौता गरेसँगै अव बिल बोकेर कोष धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। अब भने परिचयपत्र देखाएपछि उपचार खर्चको २० प्रतिशत रकम मात्रै बिरामीले तिर्नुपर्छ।
दुर्घटनाबापतको सुविधामा शतप्रतिशत उपचार खर्च कोषबाट सम्बन्धित स्वास्थ्य संस्थालाई भुक्तानी गर्ने व्यवस्था छ। सो प्रणाली कार्यान्वयन हुँदा योगदानकर्ताले स्वास्थ्य उपचारका लागि ठूलो रकमको जोहो गरी स्वास्थ्य संस्था जानुपर्ने र रकम शोधभर्नाका निम्ति कागजातसहित कोषको कार्यालयमा जानुपर्ने झन्झटको अन्त्य हुने कोषले जनाएको छ।
अनलाइनप्रणाली अन्तर्गत केही प्रदेशका र काठमाडौं उपत्यकाका अस्पताल सहभागी रहेको कोषका निर्देशक उत्तमराज नेपालले जानकारी दिए । उनका अनुसार कोषको परिचयपत्र देखाएर अनलाइन प्रणालीमार्फत सेवा दिने अस्पतालमा बागमतीका ९ अस्पताल र प्रदेश १ का ८, प्रदेश २ का ५, लुम्बिनीका ३ र गण्डकीका १ अस्पताल छन्।
योगदानकर्ताको सुविधालाई ध्यानमा राखी परीक्षणका रूपमा यो स्वचालित विद्युतीय प्रणाली सञ्चालनमा ल्याइएको र यसमार्फत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षालगायतका सेवा लिन सकिने बताइएको छ ।
कोषका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका तीन लाख ४४ हजार ५३१ योगदानकर्ताले कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र देखाएर ती अस्पतालबाट वार्षिक एक लाख रुपियाँको स्वास्थ्य उपचार सेवा लिन सक्नेछन् ।
योगदानकर्ताले एक आर्थिक वर्षमा एक लाख रुपियाँ नबढ्ने गरी उपचार खर्च प्राप्त गर्नेछन् । कोषका अनुसार कोषमा सूचीकृत भएका १२६ ओटा अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्नेछन् । यस्तै कोषमा योगदान गरेको नम्बरसहितको परिचयपत्र देखाएर २६ अस्पतालबाट सेवा लिन सक्नेछन् ।
प्रकाशित: २१ असार २०७९, मंगलवार