ड्राइभिङ लाइसेन्सको आवेदन शुल्क अनलाइनबाट भुक्तानी गर्न सकिने सुविधा तयार

  • Technology Khabar | २० असार २०७९, सोमबार
ड्राइभिङ लाइसेन्सको आवेदन शुल्क अनलाइनबाट भुक्तानी गर्न सकिने सुविधा तयार

काठमाडौं ।

ड्राइभिङ लाइसेन्सको आवेदन शुल्क अनलाइनबाट भुक्तानी गर्न सकिने सुविधा तयार भएको छ। लाइसेन्सको आवेदन शुल्क अनलाइनबाट भुक्तानी गर्न सकिने सुविधा तयार भएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ।

विभागले अनलाइन भुक्तानीका लागि आवश्यक पूर्वाधार तयार गरिए पनि प्रयोगमा भने ल्याउन नसकिएको सूचना अधिकारी इश्वरीदत्त पनेरु बताउँछन्।

‘प्रदेशका आधारमा यातायात कार्यालयहरुको बैंक खाता छुट्टै छ। ती खाताहरुलाई एकिकृत प्रणालीमा ल्याउनुपर्ने हुन्छ,’ पनेरुले टेक्नोलोजीखबरसँग भने, ‘यसका लागि महालेखा नियन्त्रण कार्यालयसँग सहकार्य भइरहेको छ।’

एकिकृत प्रणाली विकास भए पछि मात्र अनलाइनबाट राजश्व भुक्तानी गर्न सकिने व्यवस्था कार्यान्वयनमा आउने पनेरुले बताए।

ड्राइभिङ लाइसेन्सको आवेदन लिनका लागि हाल विभागले नयाँ सर्भर तयार गरेको छ। नेपाली कम्पनी कामक्ष आईटीले तयार गरेको सर्भरमा अनलाइनबाटै लाइसेन्स परीक्षणको राजश्व बुझाउन सकिने व्यवस्था गरिएको छ।

अघि विभागले भारतको मद्रास सेक्यूरिटीले तयार गरेको सर्भरबाट ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन लिने गरेको थियो।

प्रकाशित: २० असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...