नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने

  • Technology Khabar | १९ असार २०७९, आईतवार

काठमाडौं ।

नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ।

कोषकाअनुसार यो सुबिधा सीजीएएस प्रणालीबाट पारिश्रमिक बितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयहरुले उपभोग गर्न सक्नेछन्। यसरी रकम जम्मा गर्दा कोषको कर्मचारीले एप्रुभ गर्ने बित्तिकै सम्बन्धित कर्मचारीको खातामा रकम जम्मा हुनेछ।

तत्कालका लागि यो सुबिधा कोषको कर्मचारी बचत वृद्धि अवकास योजनामा सहभागी भएका कर्मचारीहरुको कार्यालयहरुले पाउनेछन्। ती कार्यालयहरुले आफ्ना कर्मचारीहरुका निम्ति कोषमा जम्मा गर्ने कट्टी रकम अब एनसीएचएलका सबै सदस्य बैंक-वित्तीय संस्थाहरुबाट पठाउन सक्नेछन्।

कर्पोरेट पे सुबिधा लिएका कार्यालयहरुले भने कर्पोरेट पे प्रणाली मार्फत आफैँले भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ।

यस प्रणाली अनुसार सबै कार्यालयहरुले रकम दाखिला गर्न चाहने सम्बन्धित कार्यालयले आफ्ना कर्मचारीहरुको नाम थर र कोषले प्रदान गरेको परिचय नं. समेतको बिबरण कोषको ई–सर्भिस पोर्टल http://eservice.nlk.org.np/  मार्फत चढाई सो बिबरणलाई सबमिट गरेपछि प्राप्त हुने सबमिसन नम्बर तथा अफिस कोड सहितको प्रिन्ट आउट लिई आफ्नो कारोबार गर्ने बैंकमा सम्पर्क गरेपछि उक्त बैंकले सबमिसन नम्बर तथा अफिस कोडका आधारमा बैंकमा रहेको बैंक सेन्ट्रल मोड्यूलमार्फत रकम जम्मा गरिदिने छन्।

यसरी बैंकले बैंक सेन्ट्रल मोड्यूल मार्फत दाखिला गरेको कारोबार रकम सहितको बिबरण एनसीएचएलले एपीआई कोषको कोर सिस्टममा पठाउनेछ।

उक्त बिबरणलाई कोषले भेरिफाई गरेपछि सम्बन्धित कार्यालयका कर्मचारीहरुको कोषको खातामा रकम जम्मा हुनेछ । रु २० लाख सम्मको रकम रियल टाइममा र सोभन्दा माथि रु २० करोड सम्मको रकम नन्–रियलटाइममा जम्मा गर्न सकिने भएको छ।

बैंक तथा वित्तीय संस्थाबाट कर्पोरेट पे सुबिधा लिएका कार्यालयहरुले यो सुबिधा आफैंले कर्पोरेट पे मार्फत आफ्नो भुक्तानी खाताबाटै गर्न सक्दछन् । यस प्रकारको भुक्तानीमा सम्बन्धित कर्मचारीको विवरण पनि स्वतः अपडेट हुने गर्दछ।

यसरी बैंक वा कर्पोरेट पे मार्फत नागरिक लगानी कोषको रकम अनलाइनबाट जम्मा गर्न सकिने हुँदा कोषका तीन लाख भन्दा बढी सहभागीहरुलाई स्वचालित रुपमा डिजिटल माध्यम प्रयोग गरी सेवा प्रवाह गर्न मद्दत पुग्ने विश्वास कोषले गरेको छ।

यसरी यो माध्यमबाट कोष कट्टी रकम दाखिला गरेपछि कोषमा फाँटवारी र बैंक भौचर बिगतमा पठाए जस्तै पठाउनु पर्ने छैन। यस प्रणालीको अपरेसन म्यानुअल कोषको वेबसाइटमा समेत उपलब्ध रहेको कोषले उल्लेख गरेको छ।

कोषले यसभन्दा पहिले कनेक्ट आईपीएस र मोबाईल बैंकिङ्ग प्रणाली मार्फत कोषको कर्मचारी बचत वृद्धि अवकाश कोषको ८०% कर्जा भुक्तानीको रकम संकलन गर्दै आएकोमा अब यस्तो रकम हिमालय बैंक वा लक्ष्मी बैंकका जुनसुकै शाखा कार्यालयहरुबाट रकम जम्मा गरेमा बैंक दाखिला भौचर बिगतमा जस्तै कोषमा दाखिला गर्न आउनु पर्नेछैन्।

ती बैंकहरुमा जम्मा गरिएको रकमको बिबरण कोषलाई ती बैंकहरुको प्रणाली मार्फत प्राप्त भई कोषबाट अप्रुभ हुनासाथ रकम दाखिला गर्नेको कोषको खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ।

यसले गर्दा सापटी रकम फिर्ता भुक्तानी गर्ने सहभागी कोषमा आउनुपर्ने अवस्थाको अन्त हुने जनाएको छ।

प्रकाशित: १९ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया