
काठमाडौं ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पेट्रोलबाट सञ्चालित सवारी साधनलाई विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्नेको सङ्ख्या बढेको छ। पछिल्लो समय वर्कसपमा मोटर साइकल र स्कुटरलाई विद्युतीय बनाउनेको भीड बढेको हो।
धुम्बाराहीस्थित सुन्दर अटो इन्जिनियरिङले दैनिक ४० देखि ५० ओटा स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्ने गरेको छ।
सो कम्पनीका प्रमुख भेषबहादुरथापाले माग निकै बढेकाले कुपन प्रणाली सुरु गरिएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म करिब दुई सय स्कुटर र १० ओटा मोटरसाइकललाई विद्युतीय साधनमा रूपान्तरण गरिसकिएको छ। उनले ब्याट्रीलगायतका सामान चीन र भारतबाट आयात गर्नुपर्ने भएकाले सामान अभावमा पालो प्रणाली लागू गरिएको बताए । उनले ५३० ओटा स्कुटर पालोमा रहेको बताए।
वर्कसपका अनुसार स्कुटरलाई विद्युतीय स्कुटर बनाउन करिब एक लाख रुपियाँ लाग्छ। त्यसमा १५ देखि २३ वाटसम्मको मोटर जडान गर्ने गरिन्छ । दुई घण्टामा पूर्णरूपमा चार्ज भइसकेपछि ५० देखि ६० किलोमिटर गुड्ने दाबी गरिएको छ।
उनले २० रुपियाँको विद्युतीय खर्चबाट ६० किलो मिटर यात्रा गर्न सकिने दाबी गरे। हाल स्कुटर तथा मोटर साइकललाई मात्र विद्युतीय साधनमा रूपान्तरण गर्न पाउने व्यवस्था छ।
यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले भने, “चार पाङ्ग्रेलाई वातावरणमैत्री सवारीसाधनमा रूपान्तरण गर्नका लागि निर्देशिका निर्माणको चरणमा छ। अधिकांश निकायसँग समन्वय गर्नुपर्ने भएकाले समय लागेको छ ।” गोरखापत्रबाट
प्रकाशित: १८ असार २०७९, शनिबार