
काठमाडौं ।
नेपाल प्रहरीले सिमकार्ड नक्कल गरी रकम ठगी गरेको आरोपमा एकजनालाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।
प्रहरीले सामाजिक सञ्जाल फेसबुक तथा ह्वाट्सएपमा बैदेशिक रोजगारको लागि पोर्चुगल लैजाने भनि कुराकानी हुँदा पोर्चुगलमा ग्यारेन्टीको साथ पठाई दिन्छु र पोर्चुगलको लागि ११ लाख रुपैयाँ रकम लाग्छ भनि सक्कल कागजातहरु लिएर पिडितहरुको नाममा सिम कार्ड निकाल्ने मकवानपुर हेटौंडाका ४१ वर्षिय गोपी बजगाईँलाई बिहिबार पक्राउ गरेको जानकारी दिएको छ।
निज आरोपीले शुरुमा प्रोसेसिङ्ग गर्न कुनै पनि शुल्क लाग्दैन तपाईहरुको कागजातहरु मात्र भए पुग्छ भन्ने गरेको र भिषा आएपछि रकम तिर्नुपर्छ भनी म्यासेज तथा कल गरी विश्वास दिलाई पिडितको सक्कल राहदानी, नागरिकता, सम्पत्ति बिबरण कागज समेत लिई झुक्याई निबेदकको नागरिकताबाट सिमकार्ड समेत अर्को निकाली बैंक खाता समेतमा पहुँच राखी मोबाइल बैकिङ्ग सेवा बनाई बैंक खातामा रहेको रकम निकाली ठगी गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ।
ती व्यक्तिलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले खोजतलाश गर्ने क्रममा असार १६ गते काठमाण्डौ नयाँबानेश्वरमा फेला पारी पक्राउ गरि ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौमा पठाईएको जनाएको छ।
प्रकाशित: १७ असार २०७९, शुक्रबार