
काठमाडौं ।
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाईट जडान गरी आजबाट सञ्चालनमा आएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा नं. ३ कार्यालय र तन्त्र भेन्चर्स प्रालिसँग समन्वय र सहकार्य गरी उक्त नयाँ ट्राफिक लाईट जडान गरि संचालनमा ल्याएको हो ।
ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले उक्त नयाँ ट्राफिक लाईटको स्वीच अन गरी उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा बोल्दै एसएसपी जोशीले प्रविधिको विकासले फड्को मार्दै गर्दा ट्राफिक प्रहरीको सेवामा पनि यात्रुमैत्री प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिँदै आएको बताए।
“उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित एवं चुस्त बनाउन तथा प्रविधिको प्रयोग गरी थोरै जनशक्तिबाट धेरै काम लिन विभिन्न प्रविधिमैत्री अभियान थालिएको छ ।” जोशीले भने, “प्रबिधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्रमुख प्राथमिकता दिएको छ ।”
ललितपुर महानगरपालिका वडा नं. ३ कार्यालयका वडाअध्यक्ष श्रीगोपाल महर्जनले सडकलाई यात्रुमैत्री बनाउन ट्राफिक प्रहरीले आधुनिक प्रविधिको प्रयोग र सवारी व्यवस्थापनमा सक्रियता बढाएको भुमिकाको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत ट्राफिक प्रहरीसँग अझै सहकार्य गर्दै जाने बताए।
हाल उपत्यकाको मुख्य ४० चोकहरुमा ट्राफिक लाईटबाट सवारी व्यवस्थापन हुदैँ आएको छ भने १३ स्थानमा परिक्षण गरी सञ्चालनको प्रकियामा रहेको र ७ स्थानमा जडान कार्य भईरहेको छ।
प्रकाशित: १६ असार २०७९, बिहीबार