
काठमाडौं ।
अमेरिकी चिप निर्माता क्वालकमको फ्ल्यागशिप चिपसेट स्न्यापड्रागन ८ जेन २ नोभेम्बरमा सार्वजनिक हुने भएको छ।
सामान्यतया कम्पनीले आफ्ना नयाँ चिपसेट डिसेम्बरको पहिलो सप्ताहान्तमा सार्वजनिक गर्दै आउने गरेकोमा यस पटक भने २ हप्ता अगाडि नै ल्याउने बुझिएको छ।
सान डिएगोमा मुख्यालय रहेको कम्पनीको आधिकारिक वेबसाइटमा स्न्यापड्रागन समिट आगामी नोभेम्बर १४ देखि १७ सम्म हुने तोकिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
पछि उक्त इभेन्ट वेबसाइटबाट हटाइएको थियो। तर भूलवश: राखिएको भए पनि उक्त पोस्टबाट क्वालकमको इभेन्ट नोभेम्बरमा हुने भने पक्का भएको छ। यसले शाओमी तथा मोटोरोला जस्ता निर्माताहरुलाई उक्त चिपसेटयुक्त स्मार्टफोन निर्माणको होडबाजीमा होमिन उत्प्रेरित गर्ने बुझिएको छ।
क्वालकमले आफ्नो हवाईमा हुने सम्मेलन हुने मिति कम्तीमा ५ महिनाअघि जानकारी बाहिर ल्याउने गरेकामा क्यालिफोर्नियाको टोलीले चुहाएको जानकारी सही नै भएको आकलन गर्न सकिन्छ।
हालै बाहिरिएको रुमरअनुसार यो चिपसेटमा अनौठो १+२+२+३ सीपीयू संयोजन रहने बुझिएको छ। जसमा एउटा कर्टेक्स एक्स३, दुई ओटा कर्टेक्स-ए७२०, दुई ओटा ए७१० तथा ३ ओटा ए५१० समावेश हुने जीएसएमएरिनाले जनाएको छ।
प्रकाशित: १५ असार २०७९, बुधबार