काठमाडौं ।
लाइकाले शून्य मेगापिक्सेल रेजोल्युशन भएको क्यामरा निर्माण गरेको छ।
कम्पनीले हालै लाइका एम-ए टाइटन नामक लिमिटेड एडिशन सार्वजनिक गरेको हो। कम्पनीले यो डिभाइस २५० थान मात्र निर्माण गरेको छ।
यो क्यामरा टाइटानियम धातुबाट बनाइएको छ जसमा एउटा एपीओ-सम्माइक्रोन-एम ५० एमएम एफ/२ एएसपीएच लेन्स लगाइएको छ।
टाइटानियमले क्यामरालाई हलुका र बलियो बनाएको छ तर यसको मूल्य भने निकै महंगो भएको अर्थात् २० हजार डलर तोकिएको छ।
टेकक्रञ्चका अनुसार एम-ए टाइटन डिजिटल नभई एनालग क्यामरा हो जसमा मेमोरी कार्ड र सेन्सर हुदैन भने फोटो खिच्नका लागि रील हाल्नुपर्ने हुन्छ।
लाइकाले कालो टाइटानियम प्रयोग गरेर विशेष संस्करणको क्यामरा बनाएको यो पहिलो पटक भने होइन। यसअघि नै यस प्रकारका ५ ओटा लिमिटेड एडिशन क्यामराहरु कम्पनीले निर्माण गरिसकेको टेकक्रञ्चले उल्लेख गरेको छ।
प्रकाशित: १४ असार २०७९, मंगलवार