Technology Khabar १३ असार २०७९, सोमबार
काठमाडौं ।
धनुषाको ढल्केवरमा चार्जिङ स्टेशन राखेपछि पूर्व–पश्चिम राजमार्गमा गुड्ने विद्युतीय सवारीसाधनलाई चार्ज गर्न सहज भएको छ। गत फागुन महिनामा एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले ढल्केबरमा पहिलो पटक चार्जिङ स्टेशन राखेको हो।
यहाँस्थित कोमल होटलमा राखिएको सो चार्जर ३२ किलोवाट क्षमताको डिसी र सात किलोवाटको क्षमताको एसी चार्जर छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ढल्केबरदेखि पश्चिम दुईभन्दा बढी किलोमिटर टाढा चितवन र त्यति नै दूरीमा पूर्वको विराटनगरमा चार्जिङ स्टेशन राखिएको छ।
ढल्केबरदेखि १० किलोमिटर पश्चिम महोत्तरीको बर्दिवासमा डिसी चार्जर राखिएको भए पनि अर्थिङ्गको समस्याका कारण बेला–बेला बिग्रिनेगरेको चालकहरुको भनाइ छ। यस्तै बर्दिवास–काठमाडौं बीपी राजमार्गको मुलकोटमा चार्जिङ स्टेशन राखिएको छ। बीचमा कतै पनि चार्जिङ स्टेशन राखिएको छैन।
होटल सञ्चालक रामप्रमोद साहले यहाँस्थित चार्जिङ स्टेशनमा दैनिक २५ देखि ३० वटासम्म गाडी चार्ज हुने गरेको बताए। प्रति युनिट १५ रुपियाँको दरले चार्जिङ शुल्क लिने गरिएको बताउँदै एक पटकमा दुई ओटा गाडीसम्म चार्ज गर्न सक्ने क्षमताको स्टेशन रहेको जानकारी दिए।
यहाँ लाइन जाँदा पनि विकल्पका रुपमा जेनेरेटर जडान गरिएको छ। देशकै सबैभन्दा ठूलो विद्युत् प्रसारण लाइन नजिकै रहेकाले नियमित तथा सन्तुलित विद्युत् प्रवाह भइरहन्छ। अरु ठाउँजस्तो यहाँ भोल्टेज कम बढी र छिन–छिनमै लाइन कट्ने समस्या नरहेको होटल सञ्चालक साहले बताए।
पूर्व–पश्चिम राजमार्गमा निजी मोटरसाइक र कार गरी दैनिक हजारौंको सङ्ख्यामा विद्युतीय सवारी गुड्ने गरेका छन्। यहाँ विद्युतीय सवारी चार्ज गर्ने सुविधा उपलब्ध भएपछि धेरैलाई राहत भएको विद्युतीय सवारीका धनी मदन श्रेष्ठले बताए।
काठमाडौंबाट विराटनगर अथवा विराटनगरबाट काठमाडौं जानुपर्दा यसअघि चार्ज स्टेशन नहुँदा यात्रुलाई समस्या थियो। अहिले धेरैलाई सुविधा भएको उनको भनाइ छ। गोरखापत्रबाट
प्रकाशित: १३ असार २०७९, सोमबार