
काठमाडौं ।
बृहस्पति हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह हो। यसको आकार यति ठूलो छ कि सबै ग्रहहरू समावेश गरिए पनि यो तिनीहरूभन्दा २.५ गुणा ठूलो साबित हुन्छ।
यो हिलियम र हाइड्रोजन ग्यासहरू मिलेर बनेको हामीले यसको बारेमा सुन्दै आएका छौं। तर अन्य ग्यासयुक्त ग्रहहरू जस्तै यसको निर्माणमा पनि धातुको प्रयोग भएको छ। वैज्ञानिकहरूले अब पत्ता लगाएका छन् कि यसमा रहेको धातुहरू अन्य ग्रहहरूबाट लिइएको हो वा यसले सम्पूर्ण सूक्ष्म ग्रहहरूलाई निल्यो !
चन्द्रमा, सूर्य र हाम्रो सौर्यमन्डल कसरी बन्यो भन्ने अध्ययन गर्न धेरै अन्तरिक्ष अभियानहरू भएका छन्। तर, विशाल ग्रह बृहस्पतिको उत्पत्तिको रहस्यबारे चित्तबुझ्दो जबाफ अझै फेला पर्न सकेको छैन्। हालै गरिएको एक अध्ययनले बृहस्पतिलाई हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह मान्नुमा एउटा कारण रहेको पत्ता लागेको छ।
वैज्ञानिकहरुका अनुसार यसले अन्य साना ग्रहहरू ‘खाएर’ यसको आकार (पृथ्वीभन्दा ३०० गुणा ठूलो) विशाल भएको हो। नासाको जुना अन्तरिक्ष अनुसन्धानले संकलन गरेको गुरुत्वाकर्षण तथ्यांक र ग्यास कोरमा रहेको चट्टानी सामग्रीको ‘कम्पोजिसन’को अध्ययनका आधारमा बृहस्पति ग्रहले साना ग्रह ‘खाएको’ वैज्ञानिकहरुले निस्कर्ष निकालेका हुन्।
गुरुत्वाकर्षण विज्ञान उपकरणको प्रयोग गरेर, नासाको अन्तरिक्ष यान जुनो मार्फत, वैज्ञानिकहरूले बृहस्पति ग्रहको निर्माणमा संलग्न तत्वहरू पत्ता लगाएका छन्। जुनोको नाम बृहस्पतिसँग पनि जोडिएको छ। रोमन देवता बृहस्पतिसँग विवाह गर्ने रोमन महिला देवताको नामबाट यसको नाम जुनो राखिएको हो। जुनोलाई सन् २०१६ मा बृहस्पतिको कक्षमा प्रक्षेपण गरिएको थियो। त्यहाँ यसले ग्रहको गुरुत्वाकर्षण क्षेत्र मापन गर्न रेडियो तरंगहरू प्रयोग गर्यो।
वैज्ञानिकहरूले बृहस्पति ग्रहको गर्भमा धातुजस्ता तत्वहरू रहेको पत्ता लगाए, जसको नाप पृथ्वीको आकारभन्दा ११ देखि ३० गुणासम्म रहेको छ। यी धातुहरू ग्रहको केन्द्र नजिकै छन्।
यो सिद्धान्त एसआरओएन नेदरल्याण्ड इन्स्टिच्युट फर स्पेस रिसर्चका यामिला मिगुएलको नेतृत्वमा रहेको खगोलविद्हरूको अन्तर्राष्ट्रिय टोलीले यस्तो प्रस्ताव गरेको थियो । उनीहरूले गत साता एस्ट्रोनोमी र एस्ट्रोफिजिक्स जर्नलमा आफ्नो लेख प्रकाशित गरेका थिए । यद्यपि, वृहस्पति कसरी बन्यो भन्ने बारेमा निश्चित रुपमा अझै थाहा नभएको वैज्ञानिकहरुको भनाइ छ।
‘हाम्रो सौर्यमण्डलमा बन्ने पहिलो ग्रहहरूमध्ये बृहस्पति एक थियो। यद्यपि, यो कसरी बन्यो भन्ने बारे हामीलाई निश्चित रूपमा केही थाहा छैन’, नेदरल्यान्ड्सको लिडेन विश्वविद्यालयकी खगोल भौतिकशास्त्री यामिला मिगुएलले लाइभ साइन्सलाई बताइन्।
बृहस्पति आज मुख्यतया घुमिरहेको ग्यासको बल हुन सक्छ, तर यसले सौर्यमण्डलका सबै अन्य ग्रहहरू जस्तै चट्टानी सामग्रीहरू संग्रह गरेर आफ्नो जीवन सुरु गरेको वैज्ञानिकहरुको दाबी छ।
“हाम्रो नतिजाहरूले बृहस्पतिको हेलियम र हाइड्रोजनको बाहिरी खोल विस्तार भइरहेको बताउँछ, यसले यी सूक्ष्म ग्रहहरूलाई भित्र लिएको हुनुपर्छ, त्यसैले यसको कारण यति ठूलो मात्रामा धातु समावेश गर्दछ।” मिगुएलले भनिन।
प्रकाशित: १३ असार २०७९, सोमबार