
काठमाडौं ।
ब्लकचेन प्लेटफर्म सोलाना ल्याब्सको सहायक कम्पनी सोलाना मोबाइलले सागा नामको नयाँ नयाँ फ्ल्यागशिप एन्ड्रोइड मोबाइल फोन सार्वजनिक गरेको छ।
यो डिभाइसले यूजरलाई स्मार्टफोनमा क्रिप्टो तथा नन-फंगिबल टोकन कारोबारलाई सहज बनाउने ग्याजेट्स ३६० ले उल्लेख गरेको छ।
सागा मोबाइल ओएसओएमले डिजाइन तथा निर्माण गरेको बताइएको छ। ओएसओएमको इसेन्सियल नामक कम्पनी पूर्व सदस्याहरुले शुरु गरेका हुन्।
यो कम्पनीले गुगल, एप्पल तथा इन्टेलजस्ता ब्राण्डका लागि कम्प्यूटिङ हार्डवेयर बनाउने काम पनि गरिसकेको छ। सोलाना सागामा ओएलईडी डिस्प्ले, १२ जीबी र्याम तथा ५१२जीबी आन्तरिक स्टोरेज तथा फ्ल्यागशिप स्न्यापड्रागन ८+ जेन १ चिपसेट रहनेछ।
सोलाना मोबाइलले सागाको मूल्य १ हजार डलर तोकेको छ भने १०० डलर भुक्तानीसहित यसको प्रि अर्डर लिन पनि शुरु गरिसकेको छ। सागाको डेलिभरी सन् २०२३ मा हुने पनि समाचारमा उल्लेख छ।
यसमा सोलाना ब्लकचेन इन्स्टल भएको हुनेछ जसमार्फत् वेब३ मा कारोबार गर्न सहज तथा सुरक्षित हुनेछ। यसबाहेक यो फोनमा टोकनका साथै एनएफटी जस्ता डिजिटल सम्पत्ति व्यवस्थापन गर्न पनि सहज हुने बताइएको छ।
ब्लकचेन प्लेटफर्म सोलानाका सह-संस्थापक एनातोली याकोभेंकोले भनेका छन्, ‘विश्वभरमा लगभग ७ अर्ब मानिसले स्मार्टफोन प्रयोग गर्छन् र १० करोडभन्दा बढी मानिसहरुसँग यस्ता डिजिटल सम्पत्ति छ। यो दुवै संख्या बढ्दै जानेछ। सागाले मोबाइलमा वेब३ अनुभवका लागि एउटा नयाँ मानक स्थापित गर्दछ।’
प्रकाशित: १३ असार २०७९, सोमबार