स्टार्टअप फेस्ट २०२२ मा २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता

  • Technology Khabar | १२ असार २०७९, आईतवार

काठमाडौं ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको स्टार्टअप फेस्ट २०२२ मा २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता भएको छ।

फेस्टको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल स्टार्टअपसँग प्रारम्भिक लगानीको सम्झौता भएको युवा मञ्चले जानकारी दिएको छ। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताव आह्वान गरेको थियो ।

नेपालकै सबैभन्दा ठूलो स्टार्टअप फेस्टमा देशभरबाट ३०० बढी परियोजना प्रस्ताव आएको थियो । त्यसमध्ये अन्तिम छनौटमा परेका परियोजनाहरुलाई फेस्टमा आफ्नो प्रस्तुति गर्ने अवसर दिइएको थियो । उक्त प्रस्तुतीकरण पछि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव डा।बैकुण्ठ अर्यालको उपस्थितिमा लगानीकर्ताले ती परियोजनामा इक्विटी लगानी गर्न प्रारम्भिक सम्झौता गरेका हुन् ।

स्वपूँजी लगानीसम्बन्धी प्रारम्भिक सम्झौता भएका स्टार्टअपहरुमा भक्सक्रो, स्किल सेवा प्राइभेट लिमिटेड, टिम बेदा, खेती, डार्कम्याटर गेम प्रडक्सन, डिजिटल एज नेपाल, डक्टर्स अन कल रहेका छन् ।

यी स्टार्टअपमा टीम भेन्चर्स, ग्लोबल इक्विटी फण्ड, अध्यन्ता फण्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर पार्टनरले प्रारम्भिक लगानी सम्झौता गरेका हुन् ।

स्टार्टअप फेस्टको समापन समारोहमा अर्थमन्त्री जनार्दन शर्माले अन्तिम छनौटमा परेका परियोजनाहरुलाई अवार्ड प्रदान गरे। उनले बजेटले स्टार्टअपलाई प्राथमिकतामा राखेको पनि बताए।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले स्टार्टअप फेस्टको उद्घाटन गर्दै आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकार तयार रहेको उद्योगमन्त्री बडूले बताए।

नेपाल उद्योग परिसंंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्टार्टअपहरुलाई सबैभन्दा ठूलो चुनौती लगानीको रहेको बताए । नविन सोच भएका स्टार्टअपहरुलाई लगानी जुटाउने उद्देश्यले नै फेस्ट आयोजना गरिएको उनको भनाइ छ ।

कार्यक्रममा सांसद समेत रहेका विनोद चौधरीले कार्यान्वयन योग्य योजना लिएर अगाडि बढ्न युवाहरुलाई आग्रह गरे । विश्वमा धनी भएका व्यक्तिहरु निरन्तरको प्रयासबाट मात्रै सफल भएको भन्दै उनले आफ्नो योजनाको सफल कार्यान्वयनका लागि निरन्तर प्रयास गरिरहन आग्रह गरेका थिए।

प्रकाशित: १२ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया