
काठमाडौं ।
विश्वमा विद्युतीय सवारीको बिक्री सन् २०२८ मा ३३ प्रतिशत र २०३५ सम्म ५४ प्रतिशत पुग्ने आकलन गरिएको छ।
हालै परामर्शदातृ संस्था एलिक्सपार्टनरले जारी गरेको रिपोर्टमा उक्त समयसम्म विश्वका मुख्य बजारमा विद्युतीय सवारीको माग निकै बढ्ने भएकाले यो आँकडा पुग्नसक्ने जनाएको हो।
गत वर्ष ईभीको वैश्विक बिक्री ८ प्रतिशतभन्दा कम थियो भने २०२२ को पहिलो त्रैमासमा १० प्रतिशत पुगेको ग्याजेट्स३६० ले उल्लेख गरेको छ।
उक्त मागलाई समर्थन गर्नका लागि अटो निर्माता तथा आपूर्तिकर्ताले सन् २०२२ देखि २०२६ सम्म कम्तीमा ५२६ अर्ब डलर लगानी गर्ने अपेक्षा गरेका छन्।
उक्त संस्थाले आफ्नो ग्लोबल अटोमोटिभ आउटलूक इभेन्टमा यस्तो बताएको हो। यो लगानी सन् २०२० देखि २०२४ सम्म ईभी क्षेत्रमा गरिने प्रक्षेपित २३४ अर्ब डलर लगानीको दोब्बरभन्दा पनि बढी हो।
तर आईसी इन्जिबाट बिस्तारै विद्युतीयमा बदल्ने क्रममा उद्योगले अझै आर्थिक तथा आपूर्ति श्रृङ्खलाको चुनौती खेपिरहनु परेको अवस्था भने रहेको देखिएको छ।
प्रकाशित: ११ असार २०७९, शनिबार