नेपाली डेटिङ एप “एस्ट्रोपड” सार्वजनिक, ज्योतिष शास्त्रका आधारमा जोडि खोज्न सकिने

  • Technology Khabar | १० असार २०७९, शुक्रबार
नेपाली डेटिङ एप “एस्ट्रोपड” सार्वजनिक, ज्योतिष शास्त्रका आधारमा जोडि खोज्न सकिने

काठमाडौं ।

अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले नेपालमा पहिलो पटक डेटिङ एप एस्ट्रोपड (AstroPod) सार्वजनिक गरेको छ।

नेपालमा भरपर्दो डेटिङ एपको उपस्थिति नभएको अवस्थामा प्रयोगकर्तालाई आफ्नो मन मिल्ने जोडी खोज्न सहयोग पुर्याउने हिसाबले आज शुक्रबार कम्पनीले एप सार्वजनिक गरेको हो।

एस्ट्रो पडको नारा “मेड इन स्टार्स” राखिएको छ।

उक्त एप डेभलप गर्ने प्रेरणाका बारेमा एस्ट्रो वेद प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत परिवेश कोइरालाले आफू विश्वको सानो हिस्सा भएका कारण विश्वका लागि केही बनाउने प्रवेशद्वारका रुपमा रहेकाले एप डेभलपमेन्टमा विशेषज्ञतासहितको सफ्टवेयर कम्पनीको लक्ष्यका साथ शुरु गरेको बताए।

“सोही अनुभवलाई नेपालमा पनि बाँड्नका लागि हामीले डेटिङ्ग एप एस्ट्रोपड सार्वजनिक गरेका हौं। यो अन्य सामान्य डेटिङ एप भन्दा फरक छ,” प्रमुख कार्यकारी अधिकृत कोइरालाले भने, ‘यसमा नेपाली युवाहरुले वैदिक ज्योतिष शास्त्रका आधारमा आफूलाई मिल्ने जोडि वा साथीहरु छनोट गर्न सक्ने सुबिधा छ र त्यसै आधारमा उनीहरुले कम्प्याटिबिलिटी टेस्ट गरेर जाँच गर्न सकिने सुबिधा रहेको छ।”

कोइरालाले रिकेश र विवेक नामका साथीहरुसँग मिलेर एउटा सफ्टवेयर कम्पनी शुरु गरेका थिए। आफ्नो एपमार्फत् विश्वभर नै ज्योतिष विज्ञानसम्बन्धी सेवा दिनका लागि बनेको परियोजनामा गुरु समुन्द्र नामका अर्का सहकर्मी जोडिएपछि यो ४० जनालाई रोजगारी दिने कम्पनीमा परिणत भएको जानकारी दिए।

यसले हाल विश्वभरमा १० लाखभन्दा बढी प्रयोगकर्तालाई सेवा प्रदान गर्दै आइरहेको छ।

एस्ट्रो वेद मानिसहरुलाई खुशी जीवन बाँच्न सल्लाह दिने उद्देश्यले प्रविधिमार्फत ज्योतिषीय सेवा प्रदान गर्ने नेपाली कम्पनी हो।

कम्पनीकाअनुसार १० लाखभन्दा बढी मानिसहरुलाई सेवा प्रदान गरिसकेको अनुभवका आधारमा अधिकांश मानिस आफ्नाबारेमा र आफ्ना सहयात्रीहरुसँगको सम्बन्धका बारेमा थाहा नपाएर दुखी हुने गरेको पाइएको छ। यो अन्तरंग जानकारीले यो टोलीलाई एस्ट्रोपड डेटिङ – मेड इन स्टार्स नामक एप निर्माण गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: १० असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...