
काठमाडौं ।
चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म नेपालमा ५४ करोड ६५ लाख ९३ हजार रुपैयाँ बराबरका स्मार्टवाच आयात भएका छन्।
यो तथ्याङ्क भन्सार विभागले हालै अद्यावधिक गरेको यो आर्थिक वर्षको ११ महिनाको प्रतिवेदनमा उल्लेख गरिएको छ।
तथ्याङ्क अनुसार आर्थिक वर्षको ११ महिनाको अवधिमा उक्त रकम बराबरको ३ लाख ९३ हजार २७२ थान स्मार्टवाच आयात गरिएको हो।
यो आँकडा शुरुवाती १० महिना अर्थात् २०७९ वैशाख मसान्तसम्म ५१ करोड ९० लाख ६१ हजार तथा २०७८ चैत्र मसान्तसम्म ४८ करोड ५८ लाख १५ हजार रुपैयाँको थियो।
यस हिसाबले २०७९ वैशाख मसान्तदेखि जेठ मसान्तसम्मको एक महिनामा २ करोड ७५ लाख ३२ हजार रुपैयाँ बराबरको स्मार्टवाच आयात भएका देखिन्छ।
यस्तै सङ्ख्याका हिसाबले २०७९ वैशाखदेखि जेठ मसान्तसम्मको अवधिमा ३७ हजार १५ थान स्मार्टवाचको आयात बढेको देखिन्छ।
सबैभन्दा बढी चीनबाट ३,७१,७४५ थान
आयात भएकामध्ये चीनबाट सबैभन्दा धेरै अर्थात् ३ लाख ७१ हजार ७४५ ओटा तथा भारत बाट १६ हजार ३५० ओटा स्मार्टवाचहरु आयात भएका छन्।
यी स्मार्टवाचका मूल्यमध्ये चीनबाट आयात गरिएकाको ४३ करोड ६९ लाख ७९ हजार तथा भारतबाट ल्याइएकाको ३ करोड ३ लाख ३५ हजार रुपैयाँ रहेको छ।
यसबाहेक यो आर्थिक वर्षको ११ महिनाको अवधिमा अन्य २२ देशबाट पनि विभिन्न सङ्ख्यामा स्मार्टवाचहरु आयात भएको प्रतिवेदनमा उल्लेख छ। उक्त सूचीलाई तालिकामा यसरी हेर्न सकिन्छ।
| देश | सङ्ख्या | रकम रु. | देश | सङ्ख्या | रकम रु. |
| अस्ट्रेलिया | ८४ | ९, ०१, ००० | कोरिया | ५८ | ९, ४७,००० |
| बेलायत | ६ | १, ७४, ००० | कुवेत | ४ | ८,००० |
| भियतनाम | २, ५२१ | ७, ०६, ५६, ००० | मलेसिया | ३ | २४,००० |
| साइप्रस | १ | ७, ००० | न्यूजिल्याण्ड | ४ | ३४,००० |
| चेक रिपब्लिक | २ | २५, ७६, ००० | अमेरिका | ८८ | १२, २४, ००० |
| फ्रान्स | १ | १४,००० | सिंगापुर | १ | २७,००० |
| हङकङ | ६ | ९,००० | ताइवान | २, ३४५ | १९, ४०, ००० |
| यूएई | २८ | ५,६३,००० | थाइल्याण्ड | ३ | १६,००० |
| जापान | १२ | १, १३, ००० | यूक्रेन | १ | १०, ००० |
| फिलिपिन्स | १ | ४,००० | क्यानडा | ० | २,००० |
| पोल्याण्ड | १ | ५, ००० | फिनल्याण्ड | ५ | १२, ००० |
प्रकाशित: १० असार २०७९, शुक्रबार