
काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ५० विजनेश/५० लगानीकर्ता कार्यक्रम अन्तरगत सम्भावित लगानीकर्ताहरू समक्ष २० युवा उद्यमीले आफ्नो नविनतम उद्यमको बारेमा प्रस्तुती गरेका छन्।
महासंघको यस कार्यक्रम अन्तर्गत मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणा समेत गरेको छ।
मुलुकभित्र नविनतम सोच भएका नवप्रवर्तक स्टार्टअपलाई सम्भावित लगानीकर्ता जुटाई दिने उद्देश्य अनुरूप महासंघले यो कार्यक्रम शुरु गरेको हो । कार्यक्रममा महासंघका करिब २५ जना सम्भावित लगानीकर्ताहरूको उत्साहपूर्वक सहभागिता थियो । प्रस्तुत योजनामा लगानीकर्ताले रूचि देखाएमा महासंघको स्टार्ट अप एण्ड इनोभेसन समितिले दुवै पक्षबीच सहजीकरण गर्ने बताईएको छ।
महासंघ आफैँले आवेदन मार्फत छनोट गरेका र महासंघको सहकार्यमा व्यवसायिक संघ/संस्थाले विभिन्न समयमा गरेका स्टार्टअपसंग सम्बन्धित कार्यक्रममा उत्कृष्ट ठहरिएका स्टार्टअपहरूले पिचिङ सेशनमा भाग लिएका थिए । महासंघले यस कार्यक्रममा सहभागिताका लागि विभिन्न समयमा स्टार्टअप व्यवसायीसंग आवेदन समेत माग गरेको थियो ।
पिचिङ सेशनमा कृषि, उत्पादनमुलक, खानपिन, सूचना प्रविधि, सेवासँग सम्बन्धित विजनेस योजना प्रस्तुत भएका थिए।
महासंघको स्टार्टअप एण्ड इनोभेसन समितिले गत बर्ष चैत ९ गते ५० विजनेश/५० लगानीकर्ता कार्यक्रमको घोषणा गरेको थियो ।
पिचिङ शेशनमा आमा एग्रो प्रा.लि., रासन टेक प्रा.लि., नेपाल एग्रो इन्पुट्स मार्केटिङ एण्ड इन्टरप्रेनुअरशिप सर्भिस(नेम्स),अन्सु टेक्नोलोजि प्रा.लि., लुक्ला आउटडोर, पिक एण्ड ड्रप, एक कल होम सोलुसन्स, वेदा, अर्वान्स नेपाल, खानपीन, स्वीट फिक्स,बिहे नेपाल,सारङ,कारखाना,ग्लोकल एकेडेमि अफ स्कील, ह्यापी माइण्डस, टेका, बोआफ्रेश,ज्वाला कृषि तथा पशुपालन उद्योग, निन्जा इन्फोसीस छन्।
महासंघले पहिलो पटक स्टार्टअप एण्ड इनोभेसन समिति नै गठन गरी यो क्षेत्रको प्रबर्द्धनमा काम गर्दै आएको छ।
महासंघको यस कार्यक्रममा एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आईरहेका र कम्तिमा पनि एक वर्षको लेखा परिक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता भएका स्टार्टअप व्यवसाय यसका लागि योग्य मानिने छन्।
महासंघका अध्यक्ष शेखर गोल्छाले पिचिङ सेसनको औपचारिक शुभारम्भ गर्दै महासंघको यो कार्यक्रमले नविनतम सोच भएका र लगानीको अभावमा आफूलाई विस्तार गर्न नसकेका स्टार्टअपहरूलाई लगानी जुटाउन सहयोग पुर्याउने विश्वास प्रकट गरे । महासंघको आर्थिक रुपान्तरण २०३० (भिजन पेपर) ले पनि स्टार्टअप व्यवसायलाई जोड दिएको र अहिले सरकारले पनि महासंघको सल्लाहमा यो क्षेत्रलाई प्राथमिकतामा राखेको बताए।
स्टार्टअप एण्ड इनोभेसन समितिका सभापति रंजितराज आचार्यले महासंघको यो प्रयासले मुलुकभित्र स्टार्टअप व्यवसायमा नयाँ आयाम थप्ने विश्वास प्रकट गरे।
प्रकाशित: ९ असार २०७९, बिहीबार