
काठमाडौं ।
टेस्लाका सीईओ इलन मस्ककी लिंग परिवर्तन गरिएकी छोरीले आफ्ना बाबुसँगको सम्बन्ध टुंग्याइ पाउन आवेदन दिएकी छिन्।
उनले आफू कुनै पनि आकार वा रुपमा आफ्ना भौतिक बाबुसँग सम्बद्ध नदेखिने भन्दै कानूनी रुपमा आफ्नो नाम तथा लिंग परिवर्तन गराई पाउनका लागि आवेदन दिएकी बीबीसीले उल्लेख गरेको छ।
१८ वर्षीया उनले आफूलाई महिलाको पहिचान दिएर नाम पनि भिभियन जेन्ना विल्सन राखिदिन आग्रह गरेकी हुन्।
उनलाई हाल जेभियर अलेक्जेन्डर मस्कका नामले पनि चिनिँदै आएको छ।
उक्त आवेदन नाम परिवर्तन तथा नयाँ जन्म दर्ता प्रमाणपत्रका लागि भन्दै सान्टा मोनिकामा रहेको लस एञ्जल्स काउन्टी सुपेरियर कोर्टमा बुझाइएको हो। उनको आग्रह अप्रिलमा अदालतमा बुझाइएको दस्तावेजमा देखिएको हो जुन हालै मात्र बाहिरिएको रोयटर्सले जनाएको छ।
तर हालका दिनमा इलन मस्क र उनकी छोरीबिच कुनै पनि मनमुटाव देखिएको छैन। यसबारेमा मस्कले कुनै पनि प्रतिक्रिया दिएका छैनन्।
मस्कले क्यानडाकी लेखक जस्टिन विल्सनसँग सन् २००० मा बिहे गरेका थिए भने २००८ मा दुवैको सम्बन्ध बिच्छेद भएको थियो। भिभियन जस्टिनबाट जन्मिएका सन्तान हुन्।
प्रकाशित: ९ असार २०७९, बिहीबार