पेपरलेस प्रणालीमा जाँदै नेपाल टेलिकम, डकुमेन्ट म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा

  • Technology Khabar | ८ असार २०७९, बुधबार
पेपरलेस प्रणालीमा जाँदै नेपाल टेलिकम, डकुमेन्ट म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमको कार्य प्रणालीहरुलाई छिटो, छरितो र पारदर्शी बनाउन तथा कागजातहरुलाई व्यवस्थित गर्न टेलिकमको सूचना प्रणाली सहयोगी निर्देशनालयले डकुमेन्ट म्यानेजमेन्ट सिस्टम एण्ड वर्कफ्लो (डिएमएस र डब्लुएफ) सिस्टम सञ्चालनमा ल्याएको छ।

डिएमएस र डब्लुएफ सञ्चालनमा ल्याउनका मुख्य उद्धेश्य नेपाल टेलिकमको विभिन्न निकायहरुको बीचमा पेपरलेस कार्य प्रणालीको विकास गरी कार्य प्रक्रियालाई थप चुस्त बनाउनु रहेको बताएको छ।

पहिला चरणमा नेपाल टेलिकमको सूचना प्रणाली सहयोगी निर्देशनालय तथा केन्द्रिय कार्यालयबाट डिएमएस र डब्लुएफको परीक्षण शुरुवात गरिएको छ।

यी दुई कार्यालयहरुमा सफलतापूर्वक सञ्चालन गरेपश्चात क्रमशः यो प्रणाली अन्य निर्देशनालय, विभाग तथा कार्यालयहरुमा पनि विस्तार गर्दै लैजाने लक्ष्य रहेको छ।

नेपाल टेलिकम मातहतका सम्पूर्ण कार्यालयहरुमा डिएमएस र डब्लुएफ सञ्चालनमा आइसकेपछि कम्पनीका कार्य प्रणालीहरु पूर्णरुपमा स्वचालित तथा थप चुस्त हुने टेलिकमले जानकारी दिएको छ।

डिएमएस र डब्लुएफको प्राविधिक पाटोको कुरा गर्दा मुख्यतः यसमा दुईओटा कार्यगत मोडुल रहेका छन्। पहिलो मोडुलले कुनैपनि डकुमेन्टलाई डिजिटाइजेसन (डिजिटल रुपान्तरण), त्यसको भण्डारण तथा रिट्राइभ (पुनः प्राप्ति) को अलावा टेलिकमका कर्मचारीहरुका बीचमा डकुमेन्टहरुको आदान प्रदानको काम गर्दछ। दोश्रो मोडुलले नेपाल टेलिकमको आवश्यकता अनुसारको बिजनेस प्रोसेसहरुको वर्कफ्लो निर्माण गर्ने काम गर्दछ।

टेलिकमका प्रवक्ता शोभन अधिकारीले अहिले प्रारम्भिक चरणमा र परीक्षणको क्रममा नै पेपरलेस सिस्टमको काम भईरहेको बताए।

“अहिले सानो स्तरमा परीक्षणको क्रममा छ। त्यसको रिजल्ट हेरेर आगामी दिनमा टेलिकमका सबै कार्यालयहरुमा प्रयोग गरिनेछ,” प्रवक्ता अधिकारीले भने।

आदान प्रदानबाट डकुमेन्टहरुको आधिकारिकता र कानूनी मान्यता कायम गर्नका लागि डिजिटल सिग्नेचर प्रणालीमा आबद्धता गर्ने योजनाअनुरुप पहिलो चरणमा २५० प्रयोगकर्ताहरुका लागि डिजिटल सिग्नेचर प्रणाली खरिद गरी हाल डकुमेन्ट म्यानेजमेन्ट सिस्टममा आबद्धता गर्ने कार्य भइरहेको छ। डकुमेन्ट म्यानेजमेन्ट सिस्टममा डिजिटल सिग्नेचरको आबद्धता पश्चात यसलाई पूर्णरुपमा सञ्चालनमा ल्याइने जनाएको छ।

प्रकाशित: ८ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...