
काठमाडौं ।
कसैले तपाईँलाई कतै तपाईँ जस्तै देखिने मानिस भेटाएको थिएँ भनेर पक्कै भनेको हुनुपर्छ।
सन्सारमा सात जना मानिससँग अनुहार मिल्छ भन्ने भनाई पनि चल्तिमा छ। अब तपाईँ आफैँ पनि आफ्नो जुम्ल्याहा बनाउन सक्नु हुनेछ।
यो झट्ट हेर्दा तपाईँको फोटोकपी जस्तै हुनेछ तर जैविक नभएर डिजिटल स्वरुपको हुनेछ।
अहिले हामी यस्तो संसारमा छौं जहाँ वास्तविक संसारमा उपलब्ध हरेक वस्तु डिजिटल बनाइँदैछ।
हाम्रो शहर, कार, घर र हामी स्वयं डिजिटल रुपमा उपलब्ध छौं।
हाल मेटाभर्स (एक भर्चुअल, डिजिटल दुनियाँ जहाँ तपाईँको अवतार घुमिरहेको छ) को बारेमा धेरै चर्चा हुने गरेको छ। मेटाभर्स जस्तै नयाँ डिजिटल जुम्ल्याहा प्रविधि हाल चर्चामा छ।
डिजिटल जुम्ल्याहा वास्तविक संसारको फोटोकपी हुनेछ। डिजिटल जुम्ल्याहालाई मिसनको रुपमा प्रयोग गर्न सकिन्छ। वास्तविक संसारको जिन्दगीलाई राम्रो बनाउनका लागि फिडब्याक दिएर यसमा सुधार गर्न सकिन्छ।
यसको मतलब हामी डिजिटल रुपम यस्तो वस्तु बनाउन सक्छौं जसले मूल अर्थात् मौलिक वस्तुबाट सिकेर वा त्यसलाई असल बनाउन पनि मद्दत गर्नेछ।
छिट्टै तयार हुँदैछ मानिसको डिजिटल ट्विन्स
प्रविधि विश्लेषक रोब एन्डरलका अनुसार यो दशक अन्त्य हुनुअघि छिट्टै नै आफैंले सोच्न सक्ने मानिसको डिजिटल जुम्ल्याहा उपलब्ध हुनेछ।
उनी भन्छन्, ‘तर यो वस्तुलाई अघि ल्याउनु पूर्व धेरै सोच विचारको आवश्यक छ। यसमा नैतिकताको प्रश्न पनि जोडिएको छ। सोच्न सक्षम हाम्रो डिजिटल जुम्ल्याहा रोजगारदाताका लागि धेरै उपयोगी सावित हुन सक्छ।’
‘सुन्नुहोस् तपाईँको डिजिटल जुम्ल्याहा उपलब्ध छ। यसलाई हामीले तलब दिनु पर्दैन। तपाईलाई किन जागिरमा राख्ने,’ भनेर तपाईको रोजगारदाताले भन्यो भने के गर्ने?
एन्डरलका अनुसार आगामी मेटाभर्सको समयमा डिजिटल जुम्ल्याहाको स्वामित्व गहिरो प्रश्नको रुपमा उब्जिएको छ।
मानिसको डिजिटल जुम्ल्याहाको यात्रा शुरु भइसकेको छ। तर अहिले यी आदिम स्वरुपमा छन्।
मेटा (फेसबुक)को भर्चुअल रियालिटी प्लेटफर्म, होराइजन वर्ल्डलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ। होराइजन वर्ल्डमा रहेको तपाईँको अवतारलाई आफ्नो रुप दिन सक्नु हुनेछ। उक्त प्रविधि प्रारम्भिक चरणमा रहेकाले खुट्टा भने राख्न नसकिने बताइएको छ।
अक्सफोर्ड विश्वविद्यालय एआईका वरिष्ठ अनुसन्धान फेलो, प्रोफेसर सान्ड्रा वाच्टर मानिसको डिजिटल जुम्ल्याहा सिर्जना गर्नेतर्फ बढ्दो आकर्षणको बारेमा भन्छिन्, ‘यसले तपाईँलाई रोमान्चक साइन्स फिक्सनको याद दिलाउने छ। तर यो अहिले कल्पनाको स्तरमा मात्रै उपलब्ध छ।’
उनी थप्छिन्, ‘कोही कानूनी विद्यालयमा सफल हुन्छ, बिरामी हुन्छ वा अपराध गर्छ। यो बसहकै कुरा छ। मानिस आफ्नो जिन्दगीमा के बन्छ र के गर्छ भन्ने कुरा उसको पालनपोषण र संगतमा पनि निर्भर हुन्छ।’
राम्रो भाग्य वा दुर्भाग्य, साथीहरु, परिवार, सामाजिक-आर्थिक पृष्ठभूमि तथा वातावरणले मानिस कस्तो हुन्छ भन्ने निर्भर हुन्छ।
उनी भन्छिन्, ‘आर्टिफिसियल इन्टेलिजेन्स अझै परिपक्व भइसकेको छैन जसले मानिसको जीवनमा घट्ने घटनालाई पहिल्यै बताउन सक्छ। यसमा धेरै जटिलता छ।’
डिजिटल जुम्ल्याहा बनाउने दिशामा अझै लामो यात्रा तय गर्न बाँकी छ। हामीले मानिसको शुरुदेखि अन्तिमसम्मको जिन्दगी बुझेर उसको मोडल नबनाएसम्म यो सम्भव छैन। यसबाहेक मानिसको व्यक्तिगत जीवनमा के हुन सक्छ भनेर अनुमान लगाउनु पर्ने पनि हुन्छ।
त्यसैले अहिले डिजिटल जुम्ल्याहा तयार गर्ने काम प्रडक्ट डिजाइनिङ, वितरण र शहरीकरण योजना (अर्बन प्लानिङ)मा सबैभन्दा धेरै र राम्रो तरिकाले हुन सक्छ।
उदाहरणका लागि फर्मुला वान रेसिङमा म्याकलारेन र रेड बुलको टिमले आफ्नो रेसिङ कारमा डिजिटल जुम्ल्याहा प्रयोग गर्ने गरेका छन्।
डेलिभरी कम्पनी डीएचएलले आफ्नो गोदाम र आपूर्ति श्रृङ्खलाको एउटा डिजिटल म्याप तयार गरेको छ। उसले आफ्नो कामलाई उत्कृष्ट बनाउन यस्तो गरेको बुझिएको छ।
हाम्रा शहरहरु पनि तीव्र गतिमा डिजिटल संसारमा परिवर्तन भइरहेका छन्। शांंघाइ र सिंगापुर दुवै शहरको डिजिटल जुम्ल्याहा छ। यिनलाई बिल्डिङ, ट्रान्सपोर्ट सिस्टम र गल्लिको डिजाइनमा सुधार र परिचालनका लागि बनाइएको हो।
बीबीसीको सहयोगमा
प्रकाशित: ७ असार २०७९, मंगलवार