ताइवानसँगको साझेदारीमा इलेक्ट्रोनिक्स उत्पादन गर्ने सोचमा भारतीय प्रविधि हस्तीहरु

  • Technology Khabar | ७ असार २०७९, मंगलवार

काठमाडौं ।

भारतका प्रविधि हस्तीहरु ताइवानसँगको सहकार्यमा भारतमै इलेक्ट्रोनिक्स उत्पादन गर्ने योजनामा रहेका छन्।

भारतीय बजारमा विशेषगरी चिनियाँ लगायत विदेशमा बनेका इलेक्ट्रोनिक्स सामानको बिगबिगी रहेकाले यस्तो योजना अगाडि आएको बुझिएको छ।

सरकारले यसअघि नै एलईडी लाइट, सर्भिलेन्स क्यामरा, ट्याब्लेट तथा मोबाइल फोनहरु देशमै उत्पादन गर्न प्रयास गरे पनि सफल हुन नसकेको डिजिटाइम्सले उल्लेख गरेको छ।

यसका लागि अब भने एचसीएल कम्पनीले स्थानीय बजारलाई आवश्यक इलेक्ट्रोनिक्स सामान उत्पादन गर्न एपिक फाउन्डेशन नामक ब्राण्ड निर्माण गरेको छ।

प्रायजसो विदेशी उत्पादनले विविध भाषा र जनसाँख्यिकीले सिर्जना गरेका स्थानीय आवश्यकतालाई बुझ्न नसक्ने भएकाले स्थानीय स्तरमै यस्ता सामग्री उत्पादन गर्नुपरेको डिजिटाइम्सले लेखेको छ।

स्थानीय रुपमा उत्पादनहरुको डिजाइन र निर्माण गर्दा एपिक फाउन्डेशनले भारतीय बजारमा अझ प्रगाढ स्थान बनाउने कम्पनीका संस्थापकहरुको बुझाई छ।

हालै डिजिटाइम्स एसियासँग कुराकानी गर्दै एपिक फाउन्डेशनका अध्यक्ष तथा एचसीएलका संस्थापक अजय चौधरीले आफूहरुको विभिन्न योजनामध्ये ताइवानी कम्पनीहरुसँगको साझेदारीमा भारतमा आपूर्ति श्रृङंखलाको इकोसिस्टम निर्माण गर्ने रहेको बताएका छन्।

प्रकाशित: ७ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार