
काठमाडौं ।
नेपाल सरकारको ग्रामीण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत २०७९ जेठ मसान्तसम्म ९९.७९ प्रतिशत काम सम्पन्न भएको छ।
यो आँकडा एक महिनाअघि अर्थात् वैशाख मसान्तमा पनि यति नै रहेको थियो।
यस हिसाबले हेर्दा वैशाख मसान्तदेखि जेठ मसान्तसम्मको एक महिनामा ग्रामीण दूरसञ्चार विकास कोष प्रयोगमार्फत् गरिएको समग्र काममा कुनै प्रगति देखिएको छैन।
हालै नेपाल दूरसञ्चार प्राधिकरणद्वारा जारी जेठ २०७९ सम्मको प्रगति विवरण अनुसार ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ ओटा प्याकेजमध्ये जेठ मसान्तसम्म १८ ओटा प्याकेजहरु मार्फत् ७४ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा १०० प्रतिशत काम सकिएको छ।
हालसम्म जडान कार्य सम्पन्न भइ सञ्चालनमा रहेका साइटहरुको विवरण यस प्राधिकरणको वेबसाइटमा रहेको लिंकमा हेर्न सकिन्छ।
सम्पन्न भएका परियोजनाहरु मध्ये हालसम्म ८ ओटा परियोजनाको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ। त्यस्तै ५ ओटा परियोजनाको प्राधिकरणबाट नियुक्त परामर्शदाताहरुबाट दोस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भएको छ।
यस्तै ४ ओटा परियोजनाको प्राधिकरणबाट नियुक्त परामर्शदाताहरुबाट दोस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम भइरहेको छ भने एउटा परियोजनाको अनुगमन तथा प्रमाणीकरणको काम भइरहेको छ।
२०७९ जेठ मसान्तसम्म ब्रोडब्याण्ड परियोजनाहरुको संक्षिप्त भाैतिक प्रगति विवरण निम्म प्रकारको छ:
| विवरण | स्थानीय निकायको कार्यालय | वडा कार्यालय | माध्यमिक विद्यालय | स्वास्थ्य संस्थाको संख्या | जम्मा |
| सम्झाैता भएका १८ प्याकेजका साइट संख्या | ७०६ | ५,९३३ | ५,२९९ | ४,२३७ | १६,१७५ |
| इन्टरनेट जडान सम्पन्न भएको | ७०६ | ५,८९९ | ५,२९९ | ४,२३७ | १६,१४१ |
| जडान गर्न बाँकी संख्या | ० | ३४ | ० | ० | ३४ |
| इन्टरनेट जडान सम्पन्न प्रतिशत | १००.०० | ९९.४३ | १००.०० | १००.०० | ९९.७९ |
प्रकाशित: ७ असार २०७९, मंगलवार