
काठमाडौं ।
ओला इलेक्ट्रिकले आफ्नो पहिलो इलेक्ट्रिक कार ल्याउने भएको छ।
कम्पनीले आइतबार यस विषयको आधिकारिक जानकारी दिएको हो।
कम्पनीको तमिलनाडु स्थित आगामी प्लान्टमा आयोजित एक कार्यक्रमका दौरान नयाँ इलेक्ट्रिक कारको झलक देखाइएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
ओलाका सीईओ भाविश अग्रवालले अगामी अगष्ट १५ मा इलेक्ट्रिक कारको फिचर सार्वजनिक गर्ने बताएका छन्। त्यसपछि ग्राहकले ओलाको इलेक्ट्रिक कार बुकिङ गर्न सक्नेछन्।
सीईओ अग्रवालले भने, ‘हामीले एक इलेकिट्रक टू-ह्वीलर एस१ प्रोका साथ एउटा सानो शुरुवात गरेका छौं। आगामी केही वर्षमा थप टू-ह्वीलर्स रोल आउट गर्ने छौं। हामीसँग अब छिट्टै फोर ह्वीलर हुनेछ। हामी कार निर्माण गर्दै छौं र ब्याट्री सेलको मुख्य प्रविधि पनि निर्माण गर्दैछौं।’
ओलाका सबै प्रविधि भारतमा बनेको र भारतीयद्वारा बनाइएको उनले जानकारी दिए।
आइतबारको ओलाको कार्यक्रममा करिब ३, ४ हजार ग्राहकलाई आमन्त्रण गरिएको थियो। उक्त कार्यक्रममा अग्रवालले ओला सवारीका लागि मूभ२ओएस (अपरेटिङ सिस्टम) पनि सार्वजनिक गरिएको थियो। ओला ई-स्कुटरका ग्राहकले यस अपरेटिङ सिस्टमको अपडेट ओटीए अपडेटबाट गर्न सक्नेछन्।
ओला इलेक्ट्रिकले भर्खरै इजरायली ब्याट्री उत्पादक कम्पनी स्टोरडटमा लगानी गरेको छ। उक्त कम्पनी अत्याधिक फास्ट-चार्जिङ(एक्सएफसी) प्रविधि भएको ब्याट्रीमा अग्रणी रहेको ड्राइभस्पार्कले उल्लेख गरेको छ। स्टोरडटमा गरिएको लगानी ओला इलेक्ट्रिकको विश्व लगानी रणनीति अनुरुप पहिलो हो।
स्टोरडटले उत्पादन गर्ने अत्याधुनिक एक्सएफसी ब्याट्री प्रविधिबाट केबल ५ मिनेटमा ०देखि १०० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दावी छ।
ओलासँग भारतमा स्टोरडरको फास्ट चार्ज प्रविधि एकीकृत गर्ने ब्याट्री बनाउने विशेष अधिकार पनि हुनेछ।
ओलाको आगामी उद्योग संसारको सबैभन्दा ठूलो टू–ह्वीलर हुनेछ। कम्पनी ब्याट्री सेलको माग पूत्र्ती गर्नका लागि गीगाप्लान्ट स्थापित गर्ने योजनामा छ।
ओलाले यस वर्षको शुरुवातमा ओला फ्यूचर प्लान्ट स्थापना गर्ने घोषणा गरेको थियो।
ओलाले आगामी ५ वर्षमा अत्याधनिक केन्द्रका लागि १०० मिलियन अमेरिकी डलरभन्दा बढी लगानी गर्ने योजना बनाएको छ। जसमा २०० भन्दा बढी डिजाइनर र अटोमोटिभ इन्जिनियरले काम गर्नेछन्।
प्रकाशित: ६ असार २०७९, सोमबार