
काठमाडौं ।
चीनको तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले बिहीबारदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) सेवा सुरू गरेको छ।
नियोगमा विद्युतीय राहदानी आवेदन दिएको एक नेपाली नागरिकको आवेदन प्रमाणीकरण, ‘लाइभ इनरोलमेन्ट’ र ‘भेलिडेसन’ को कार्य पूरा गरी छपाइका लागि राहदानी विभाग पठाइएको महावाणिज्यदूत नवराज ढकालले जानकारी दिएका छन्।
ढकालले विद्युतीय राहदानीका विशेषताका बारेमा जानकारी दिँदै सहज र सुलभ ढंगबाट विद्युतीय राहदानीसम्बन्धी सेवा प्रदान गर्न महावाणिज्य दूतावास कटिबद्ध रहेको बताए।
सो अवसरमा नियोगका सम्पूर्ण कर्मचारी तथा ल्हासामा रहेका नेपालीको उपस्थिति थियो। नियोगले प्रत्येक दिन ३० ओटासम्म आवेदन लिनसक्ने व्यवस्था मिलाएको छ।
राहदानी आवेदन फाराम अनलाइन भर्न नसक्ने सेवाग्राहीको आवेदन नियोगबाटै निःशुल्क भर्ने व्यवस्था मिलाइएको महावाणिज्य दूतावासले जनाएको छ।
प्रकाशित: ६ असार २०७९, सोमबार