
काठमाडौं ।
बोटको एक्सटेन्ड स्पोर्ट स्मार्ट वाच भारतमा सार्वजनिक भएको छ। बोटले जुन १६ शुक्रबारदेखि एक्सटेन्ड स्मार्ट वाच बिक्रीका लागि उपलब्ध गराइसकेको छ।
नयाँ एक्सटेन्ड स्पोर्ट स्मार्ट वाचमा थुप्रै आकर्षक फिचर रहेको गिगचाइनाले उल्लेख गरेको छ।
स्मार्ट वाचमा ७०० भन्दा बढी फिटनेस मोड छन्। यसले हल्काभन्दा हल्कादेखि मध्यम स्तरको गतिविधिहरु ट्रयाक गर्छ। स्मार्ट वाचले गार्डेनिङ, प्लेइङ, इन्स्ट्रुमेन्ट, पेन्टिङलगायत गतिविधि ट्रयाक गर्छ।
बोट एक्सटेन्ड स्पोर्टमा वर्गाकार डायल फिचर छ। वाचको बायाँतर्फ बटम दिइएको छ। यो बटमबाट नेभिगेटिङ मेन्यु ह्यान्डल गर्न सकिन्छ। यो स्मार्ट वाच फिटनेसमा ध्यान दिने व्यक्तिका लागि तयार गरिएको हो।
स्मार्ट वाचको मूल्य पकेट फेन्ड्ली रहेको छ। बोट एक्सटेन्ड स्पोर्टकोे प्रमोसन मूल्य २ हजार ४९९ भारु तोकिएको छ। प्रमोसन सकिए पनि यसको मूल्य ६ हजार ९९० भारु हुने गिगचाइनाले लेखेको छ। यो स्मार्ट वाच अमेजन इन्डिया र बोटको आधिकारीक वेबसाइटबाट खरिद गर्न सकिन्छ।
बोट एक्सटेन्ड स्पोर्टमा १.६९ इन्चको एचडी डिस्प्ले छ। स्क्रिनले ५५० निट्स पिक ब्राइटनेस दिन्छ। स्मार्ट वाचमा बोटको एएसएपी चार्ज प्रविधि उपलब्ध छ जसको सहयताले स्मार्ट वाच ३० मिनेटमा चार्ज हुन्छ। यसको ब्याट्री लाइफ ७ दिनको भएको कम्पनीको दावी छ।
प्रकाशित: ३ असार २०७९, शुक्रबार