
काठमाडौं ।
छिमेकी देश भारतमा फाइभजी स्पेक्ट्रम लिलामीलाई हुने भएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको केन्द्रीय मन्त्रिपरिषद्को बैठकमा ५ जी स्पेक्ट्रम लिलामीलाई अनुमोदन गरिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
अब ७२०९७.८५ मेगाहर्ज स्पेक्ट्रमको लिलामी जुलाईको अन्त्यसम्ममा हुने बताईएको छ। यो स्पेक्ट्रम विभिन्न कम, मध्यम र उच्च फ्रिक्वेन्सी ब्यान्डहरूको लागि लिलामी हुनेछ।
यी स्पेक्ट्रम २० वर्षका लागि कम्पनीहरूलाई दिइनेछ। यस पटक स्पेक्ट्रमका लागि बोलपत्रदाताहरूले पैसा उठाउन सक्नेगरी केही सर्तहरूलाई सहज गरिएको थियो। देशमा फाइभजी सेवा सञ्चालनमा आएसँगै इन्टरनेटको गति बढ्ने अपेक्षा गरिएको छ।
फाइभजी इन्टरनेट सेवा ४जी भन्दा लगभग १० गुणा छिटो हुनेछ। सरकारी अनुमतिअनुसार लो फ्रिक्वेन्सी ब्यान्ड ६०० मेगाहर्ज, ७०० मेगाहर्ज, ८०० मेगाहर्ज, ९०० मेगाहर्ज, १८०० मेगाहर्ज, २१०० मेगाहर्ज, २३०० मेगाहर्ज र मध्यम फ्रिक्वेन्सी ब्यान्ड ३३०० मेगाहर्जको साथ उच्च २६ गिगाहर्ज स्पेक्ट्रमको लागि लिलामी सञ्चालन हुनेछ।
कुनै अग्रिम भुक्तानी गर्नु पर्दैन
दूरसञ्चार क्षेत्रमा सुधारको गतिलाई निरन्तरता दिँदै मन्त्रिपरिषद्ले व्यवसाय गर्न सहजताका लागि स्पेक्ट्रम लिलामीका लागि केही सर्तहरू खुकुलो पारेको छ। यस पटक सफल बोलपत्रदाताहरूले अग्रिम भुक्तानी गर्नुपर्ने छैन। यसबाहेक, तिनीहरूले स्पेक्ट्रमको लागि २० बराबर किस्ताहरूमा पनि तिर्न सक्नेछन् । यति मात्र होइन, बोलपत्रदातालाई १० वर्षपछि स्पेक्ट्रम फिर्ता बुझाउने विकल्प पनि दिइनेछ।
व्यवसायको प्रकृति परिवर्तन हुने
स्पेक्ट्रम सम्पूर्ण ५जी इको-सिस्टमको अभिन्न र आवश्यक भाग हो। ५जी सेवाहरूमा नयाँ युगका व्यवसायहरू सिर्जना गर्ने, उद्यमहरूको लागि थप राजस्व उत्पन्न गर्ने क्षमता छ।
टेलिकम सेवा प्रदायकहरूले फाइभजी प्रविधिमा आधारित सेवाहरू रोल आउट गर्न मिड र हाई ब्यान्ड स्पेक्ट्रम प्रयोग गर्ने अपेक्षा गरिएको छ। यो हालको फोरजी सेवाहरू भन्दा करिब १० गुणा छिटो हुनेछ। देशका तीन प्रमुख दूरसञ्चार सेवा प्रदायकहरू भोडाफोन आइडिया, भारती एयरटेल लिमिटेड र रिलायन्स इन्डस्ट्रिज लिमिटेडको जियोले स्पेक्ट्रम लिलामीमा भाग लिने अपेक्षा गरिएको छ।
दूरसञ्चार मन्त्रालयले स्पेक्ट्रम लिलामी भएको १ वर्षभित्र फाइभजी सेवा सुरु गर्ने जनाएको छ। तर विज्ञहरूले यसै वर्ष भारतमा आउँदो तिहारदेखि फाइभजी सेवा सुरु हुने बताएका छन्। यसपछि अनलाइनमा काम बढ्ने र सहज हुने अपेक्षा गरिएको छ।
रिपोर्टका अनुसार पहिलो चरणमा चण्डीगढ, दिल्ली, लखनऊ, गुरुग्राम, अहमदाबाद, जामनगर, कोलकाता, हैदरावाद, गान्धीनगर, मुम्बई, पुणे, बैंगलोर, चेन्नई जस्ता देशका १३ सहरमा ५जी इन्टरनेट सुरु हुनेछ।
प्रकाशित: २ असार २०७९, बिहीबार