काठमाडौं ।
प्रदेश नं. १ सरकारले वैज्ञानिक अध्ययन/अनुसन्धान र नवप्रवर्तनात्मक कार्य गरिरहेका युवाहरुका लागि सहयोग गर्ने भएको छ।
प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/।७९ को बजेट र वार्षिक कार्यक्रममा भएको व्यवस्थाअनुसार प्रोत्साहन कार्यक्रम शुरु गरेको र त्यसको लागि आवेदन माग गरेको छ।
सामाजिक विकास मन्त्रालयले वैज्ञानिक अनुसन्धान, आविष्कार तथा नवप्रवर्तनात्मक कार्य गरिरहेका युवाहरुको प्रोत्साहनका लागि प्रोत्साहन कार्यक्रम अन्तरगत सहयोग गर्ने जनाएको छ।
जसअनुसार प्रदेश नं. १ मा बसोबास गरी विज्ञान, कृषि, स्वास्थ्य र इन्जिनियरिङ क्षेत्रमा वैज्ञानिक अनुसन्धान, आविष्कार तथा नवप्रवर्तनात्मक कार्य गरिरहेका १८ देखि ४० वर्षका युवा वैज्ञानिकहरुलाई १५ दिनभित्र आवेदन दिन भनिएको छ। जसमा आफूले गरिरहेको वैज्ञानिक अनुसन्धान, आविष्कार तथा नवप्रवर्तनात्मक कार्यको संक्षिप्त बिबरणसहित मन्त्रालयले तोकेको ढाँचामा पठाउन भनिएको छ।
प्रदेश नं. १ सरकारले यसको लागि चालु आर्थिक वर्षको बजेटमार्फत युवा वैज्ञानिक सिर्जना तथा प्रोत्साहन कार्यक्रमअन्तरगत२० लाख रुपैयाँ विनियोजन गरेको छ । कार्यक्रमले प्रदेश भित्रका युवा वैज्ञानिकहरुलाई प्रोत्साहन गर्न सम्मान र सहयोग गर्ने योजना छ।
प्रकाशित: २ असार २०७९, बिहीबार