काठमाडौं ।
काभ्रेको तेमाल गाउँपालिका–४ की पासाङ तामाङ मङ्गलबार बिहान ४ बजे धुलिखेलस्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन (फोटो खिचाउन) लाइनमा बसे । बिहान ४ बजे राष्ट्रिय परिचयपत्रको फोटो खिच्न आएका पासाङले बिहान ९ बजे फोटो खिच्ने टोकन पाएका हुन्।
“बिहान ३ बजे काठमाडौँ बौद्धबाट दाइसँग परिचयपत्रको फोटो खिच्न धुलिखेल आइपुगेको हुँ” उनले थपे। उनले सोमबार कार्यालयमा आउँदा भोलि बिहानै आएर लाइन बस्नु भनेकोले मङ्गलबार बिहान ४ बजे नै आएर लाइन लागेको बताए ।
यस्तै नमोबुद्ध नगर पालिका–७, चरङ्गे फेदीका विजय श्रेष्ठ पनि मङ्गलबार बिहान ४ः३० बजे कार्यालयमा राष्ट्रिय परिचयपत्रको फोटो खिच्न आएको बताए। उनले सोमबार आउँदा टोकन सकिएको र पालो नआएकोले मङ्गलबार परिचयपत्रको फोटो खिच्न आएको बताए । “गाउँमा टोली जाँदा छोराको नागरिकता बनाएको थिएन, अहिले राहदानी बनाउनका लागि परिचयपत्र अनिवार्य भएकोले राहदानी बनाउनका लागि परिचयपत्रको फोटो खिच्न बिहानै आएका हौँ,” विजयका बुवा श्रीकृष्ण श्रेष्ठले भने।
कार्यालयमा रहेका कर्मचारी र स्रोत साधनबाट दैनिक ८० जनाको मात्रै विवरण भरेर फोटो खिच्न सकिने क्षमता भएपनि सयभन्दा बढीको सङ्ख्यामा परिचयपत्रको फोटो खिच्न आउने भएकोले कार्यालयका बिहान ४÷५ बजे देखि नै लाइन बस्न भीड लाग्ने गर्दछ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले स्थानीय तहको निर्वाचन तथा एसईई परीक्षा सकिएकोले परीक्षा सकेको बच्चासँगै आमा, बाबुसमेत राष्ट्रिय परिचयपत्रको फोटो खिच्न कार्यालयमा आउने क्रम बढेकोले फोटो खिच्न आउने सेवाग्राहीको भीड बढेको बताइन्।
“हामीसँग दुई जना कर्मचारी, दुईवटा कम्प्युटर र क्यामरा रहेकोले दैनिक ८० जनाको मात्रै फोटो खिच्न सकिने क्षमता छ तर अहिले पनि हाम्रा कर्मचारीले खाजापानी नभनी काम गरिरहनुभएको छ,” प्रजिअ पाण्डेले थपिन् । उनले कहिलेकाहीँ १२० जनाको फोटो खिचिएको बताइन्। गोरखापत्रबाट
प्रकाशित: १ असार २०७९, बुधबार