अहिले साइबरमाथि आक्रमण गरेर प्रभाव जमाउने समय होः सञ्चारमन्त्री कार्की

  • Technology Khabar | ३० जेष्ठ २०७९, सोमबार
अहिले साइबरमाथि आक्रमण गरेर प्रभाव जमाउने समय होः सञ्चारमन्त्री कार्की

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरोकारवाला सङ्घरसंस्था र विज्ञहरूको सुझावका आधारमा ‘साइबर सुरक्षासम्बन्धी विधेयक’ लाई पूर्णता दिने बताएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा सोमबार आयोजित साइबर सुरक्षासम्बन्धी विधेयकको मस्यौदा उपर छलफलमा सञ्चार मन्त्री कार्कीले सरोकारवाला सङ्घरसंस्था र विज्ञहरूको सल्लाह र सुझावका आधारमा मात्रै विधेयकलाई व्यवस्थित र समयानुकूल बनाइने बताए।

“अहिले बम, बारुद, बन्दुकद्वारा प्रभाव जमाउने होइन, साइबरमाथि आक्रमण गरेर प्रभाव जमाउने प्रविधिको विकास भइरहेको छ, त्यसैले हामीले हाम्रो प्रविधिलाई कसरी विकास गरेर लिएर जाने भन्ने बारेमा छलफल हुन जरुरी छ,” मन्त्री कार्कीले भने। उनले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको तीव्र गतिको विकासले संसारलाई सानो गाउँमा रुपान्तरण गरिसकेको बताए।

साइबर सुरक्षा बिना देश सुरक्षित हुन नसक्ने बताउँदै उनले सूचना सञ्चार प्रविधिको विकाससँगै हुने विकृतिलाई रोक्न आवश्यक रहेको बताए।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले इन्टरनेट सेवाको विस्तार र पहुँच वृद्धि भएसँगै अनलाइन कारोबार तथा सामाजिक सञ्जालमा गतिविधि बढेसँगै सुरक्षा जोखिम र चुनौतीहरू पनि त्यतिकै बढ्दै गएको बताए। प्राधिकरणले तयार पारेको सो मस्यौदा विद्येयकमा आगामी दिनमा सर्वसाधारणले समेत सुझाब दिन सकिने गरी सार्वजनिकरुपमा राखिने जानकारी दिए।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुले सो साइबर सुरक्षासम्बन्धी विधेयकको मस्यौदामा सुझाब दिएका थिए।

प्रकाशित: ३० जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार