विद्युत महशुल बुझाउन पनि रिचार्ज कार्ड

  • Technology Khabar | २८ जेष्ठ २०७९, शनिबार
विद्युत महशुल बुझाउन पनि रिचार्ज कार्ड

काठमाडौं ।

बैशाख अन्तिम साता बागलुङको ताराखोला पुगेका बागलुङ बजार निवासी सज्जनकुमार सिंह आफन्तको घरमा बास बसे। रातको आठ बजेतिर घरमा झ्याप्प विजुली गयो । उनले ठाने विद्युत प्रसारणमा केही समस्या भए होला। छरछिमेकीको घरमा झलमल उज्यालो थियो।

लाईन काटिएपछि घरमुलीले विद्युतको मिटरमा गएर ११ अंकको रिचार्ज नम्बर थिचे। एकछिनमा फेरि विद्युत नियमित भयो। मोवाईलमा रिचार्ज गरेजस्तै विद्युत महशुल तिरेको देखर सिंहलाई आश्चर्य लाग्यो । बजार क्षेत्रमा प्रयोगमा नआएको स्मार्ट विद्युत मिटर ग्रामीण भेग ताराखोलामा प्रयोग भएको छ।

ताराखोला जलविद्युत लिमिटेडले चीनमा निर्माण भएको स्मार्ट विद्युत मिटर खरिद गरेर जिल्लामै पहिलो पटक ताराखोलाका एक हजार तीनसय  उपभोक्ताको घरमा जडान गरेको छ । सो मिटर जडान भएपछि विद्युत महशुल तिर्न घरको कामधन्दा छाडेर, घण्टौ हिड्दै विद्युत महशुल बुझाउन जाने झन्झटबाट स्थानीय मुक्त भएका छन् ।

विद्युत प्रयोग गरेअनुसार रिचार्जको रकम घट्दै जान्छ । विद्युत कम्पनीले रिचार्जका लागि जडान भएका मिटरअनुसार रिचार्ज कार्ड उपलब्ध गराउँछ। एउटा मिटरका लागि जारी भएको रिचार्ज नम्बरले अर्काे मिटरमा काम नगर्ने ताराखोला जलविद्युत कम्पनीका प्रबन्धक फोम विश्वकर्माले बताए।

रिचार्ज स्टिमका लागि कम्पनीको मुख्य कार्यालयमा सफ्टवेयर राखिएको छ। रिचार्ज कार्ड वितरणका लागि ताराखोला गाउँपालिकाको सबै वडामा सवडिलर स्थापना गरिएको छ। उपभोक्ताले आफ्नो  आवश्यकताअनुसार सबडिलरसँग रिचार्ज लिन सक्छन् । २०७६ सालदेखि त्यहाँ स्मार्ट मिटर जडान गरिएको हो।

जलविद्युत कम्पनीले घरायसी प्रयोजनका लागि जडान गरिएको विद्युतमा मासिक न्युनतम एक सय रुपियाँ र प्रति युनिट १२ रुपियाँ निर्धारण गरेको छ। उद्योगका लागि जडान गरिएको विद्युतमा मासिक न्युनतम एक हजार पाँच र प्रतियुनिट ५० रुपियाँ निर्धारण गरिएको प्रबन्धक विकले बताए।

रिचार्ज सकिनुपूर्व मिटरले संकेत ध्वनि दिन्छ। रिचार्ज सकिए पनि तत्काल लोन सुविधा कायम गरिएको छ। यस प्रविधिले विद्युत चोरी तथा महसुल उठाउने समस्या नरहेको स्थानीयको बुझाई छ। गोरखापत्रबाट

प्रकाशित: २८ जेष्ठ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...