
काठमाडौं ।
सरकारले विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध गरेको छ । जसअन्तरगत सूचना प्रविधि र दूरसञ्चार सेवासँग सम्बन्धित सेवाहरु समेत तोकिएका छन्।
ती क्षेत्रको संवेदनशीलता र नागरिकसँग जोडिएका विविध क्षेत्रलाई केन्द्रमा राखेर सरकारले विशेष व्यवस्था गरेको हो । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्षेत्रसमेत तोकेर बन्द, हड्ताल गर्न नपाउने आदेश जारी गरेको छ।
आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सरकारले विभिन्न २५ आवश्यक सेवामा हड्ताल गर्न निषेधको आदेश जारी गरेको हो ।
राजपत्रमा जारी सूचनामा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल तथा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाइ अड्डा तथा हवाइजहाजको देखभाल, त्यसको सञ्चालन, मर्मत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न नपाइने उल्लेख छ।
प्रकाशित सूचनानुसार प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवामासमेत हड्ताल गर्न निषेध गरिएको छ।
त्यस्तै, सञ्चारसहित, आन्तरिक सुरक्षाकार्यसँग सम्बन्धित, खानेपानी सञ्चालन तथा वितरणलगायतका सेवामा पनि अवरोध गर्न नपाइने सूचनामा भनिएको छ ।
सूचनामा मौसम र बाढी पूर्वानुमान तथा पूर्वसूचना प्रणालीका साथै इन्टरनेटलगायतका सेवामासमेत हड्ताल गर्न निषेध गरिएको छ।
यसअघि नै सरकारले लकडाउनको समयमा इन्टरनेटसहित दूरसञ्चार सेवामा अवरोध गर्न रोक लगाउने निर्देशन जारी गरेको थियो।
प्रकाशित: २८ जेष्ठ २०७९, शनिबार