
काठमाडौं ।
इलामको सूर्योदय नगरपालिकाको पहिलो कार्यपालिका बैठक फेसबुक पेजमार्फत हेर्न सकिने भएको गरिएको छ। प्रविधिमा फड्को मारेको सूर्योदय नगरपालिकाको बैठकलाई जनतामाझ पारदर्शी बनाउन सबैले सुन्ने र देख्नेगरी कार्यपालिका बैठक डिजिटल डिस्प्लेमा सार्वजनिक गरेको हो ।
प्रविधिमैत्री नगरको रुपमा आफनो पहिचान बनाएको नगरपालिकाका सबै निर्णय जनताले प्रष्ट देख्न पाउनेगरी डिस्प्लेमा सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिए।
नगरमा निवर्तमान नगर प्रमुख नै निर्वाचित भएर आएपछि उनले आफनो पहिलो एजेण्डका रुपमा नगरका कार्यक्रम पारदर्शी बनाउने भन्दै पहिलो निर्णयका रुपमा डिजिटल डिस्प्लेमा कार्यपालिका बैठक सार्वजनिक गर्ने निर्णय गरेका थिए।
नगर प्रमुख रणबहादुर राईले डिस्प्लेमा कार्यपालिका बैठक सार्वजनिक गर्दा सबैले देख्ने र कार्यपालिका सदस्यहरु बढी जिम्मेवार हुने बताए। उनले भने ‘नगरबासीले सूचना पाउने अधिकारको सूनिश्चित्ता गरेका हौं, हाम्रा सबै निर्णय यसरी नै डिस्प्लेमा सार्वजनिक हुनेछन् ।’
नगरपालिकाका सूचना अधिकृत उज्वल सुवेदीले दुईवटा क्यामरा नगर सभा हलमा जडान गरेर डिजिटल डिस्प्ले र नगरको फेसबुक पेजमार्फत कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गरिएको जानकारी दिए।
यसअघि सो नगरमा स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम समेत डिस्प्लेमार्फत सार्वजनिक गरिएको थियो । इलामका १० पालिकामध्ये यसरी कार्यपालिका बैठक सार्वजनिक गर्ने सूर्योदय नगरपालिका मात्र हो । नगरलाई प्रविधिमैत्री बनाउन नगरका सवारी साधनमा जीपीएस जडान गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत भट्टराईकाअनुसार अब विभिन्न सिफारिस समेत अनलाईनबाटै लिइनेछ। गोरखापत्रबाट
प्रकाशित: २७ जेष्ठ २०७९, शुक्रबार