
काठमाडौं ।
नाबालिका तथा महिलाको तस्बिर सम्पादन गरी अश्लील भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने दुई व्यक्ति पक्राउ परेका छन्।
पक्राउ परेका व्यक्तिहरु दुई फरक फरक घटनासँग सम्बन्धित रहेका प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला, धुलिखेल नगारपालिका वडा नं६ चोच्छे स्थायी ठेगाना भएर त्यहीँ बस्दै आएका २० वर्षीय बिकेश सोजुँ तथा खोटाङ, ऐसेलुखर्क गाउँपालिका वडा नं १ स्थायी ठेगाना भएर हाल कामनपा १६, बालाजु बस्ने २० वर्षीया भोज कुमारी दाहाल रहेको बुझिएको छ।
सोजुँले नाबालिकाको तस्बिर इडिट गरेर अश्लील भिडियो बनाई उनका आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाएर चरित्र हत्या गरेको आरोप लागेको छ।
यसैगरी दाहालले भने महिलाको तस्बिर दुरुपयोग गरी समाजमा अपाच्य हुने खालको फोटो क्याप्शनसहित पोस्ट गरी पीडितको चरित्र हत्या गरेको आरोप छ।
सोजुँ तथा दाहाल दुवैलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूर गरेको अभियोगमा ब्यूरोबाट खटिएको टोलीले क्रमश: जेठ २५ र २६ गते पक्राउ गरी ५-५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीले जनाएको छ।
प्रकाशित: २७ जेष्ठ २०७९, शुक्रबार