काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्राण्ड वनप्लसले आफ्नो नर्ड २टी स्मार्टफोन यसै महिना भारतममा सार्वजनिक गर्ने भएको छ।
कम्पनीको यो मिड रेन्ज फोन यसअघि बजारमा उपलब्ध नर्ड२ को केही अपग्रेड गरिएको भर्सन भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
बाहिर आएका जानकारी अनुसार भारतमा यो स्मार्टफोन अमेजनमा मात्र उपलब्ध हुने र यसको मूल्य ३० हजार भारु रहनेछ। यसको मूल्य नर्ड२ सार्वजनिक हुँदाको भन्दा पनि सस्तो हुन सक्ने सम्भावना पनि रहेको बताइएको छ।
यस हिसाबले हेर्दा यो स्मार्टफोन यूरोपमा भन्दा भारतमा अझ सुपथ मूल्यमा उपलब्ध हुने आकलन गर्न सकिन्छ। यूरोपमा यसको मूल्य ३९९ यूरो तोकिएको छ भने भारतमा यो ३२ हजार ९६३ भारुमा उपलब्ध हुनेछ।
यो मोबाइलको भारतीय संस्करण र ग्लोबल संस्करण उस्तै रहेको छ। यो डिभाइसमा ६.४३ इन्चको एमोलेड स्क्रीन, पछाडिपट्टि ५० मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामराका साथमा ३२ मेगापिक्सेल सेल्फी शूटर राखिएको छ।
यस्तै यो डिभाइस ८ र १२ जीबी र्यामका साथमा १२८ तथा २५६ जीबी आन्तरिक स्टोरेज, ४५०० एमएएचको ब्याट्री, एन्ड्रोइड १२ तथा अक्सिजनओएस १२.१ रहनेछ।
प्रकाशित: २७ जेष्ठ २०७९, शुक्रबार