
काठमाडौं ।
बाँकेमा विद्युतीय सवारीका लागि पहिलो पटक चार्जिङ प्वाइन्ट (स्टेसन) सञ्चालन भएको छ। कोहलपुर चौराहास्थित बीबी इन्टरप्राइजेजले विद्युतीय सवारीका लागि चार्जिङ प्वाइन्ट (स्टेसन) सञ्चालन गरेको हो।
विद्युतीय सवारीसाधन रिचार्ज गर्ने स्टेसन सुरु गरिए पनि केही थप भौतिक संरचना निर्माणकार्य जारी रहेको सो इन्टरप्राइजेजले जनाएको छ। बीबी इन्टर प्राइजेजका सञ्चालक विष्णु खनालले अब चार्जिङ प्वाइन्ट (स्टेसन)को अभावमा समस्यामा परेका सवारीसाधनलाई सहज हुने बताए।
“अहिले पनि दैनिक सातवटा विद्युतीय गाडीले सेवा लिइरहेका छन् । अनौपचारिक रूपमा गाडी जार्च गर्ने र रिफ्रेस सेन्टरका लागि भौतिक संरचना निर्माणकार्य भइरहेको छ,” उनले भने, “चार्ज गरेको प्रति युनिट १२ रुपियाँ मात्रै पर्छ।”
बाँके जिल्लामा रहेका विद्युतीय सवारी साधनका अतिरिक्त कर्णाली, सुदूर पश्चिम तथा लुम्बिनी प्रदेशलगायतका सवारीसाधनले सो सुविधा पाउने छन्।
त्यस्तै , विद्युतीय चार्ज स्टेसन कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा विस्तार गरिने योजना रहेको सञ्चालक खनालले बताए।
विद्युतीय चार्जिङ प्वाइन्ट स्थापनाका लागि बीबी इन्टरप्राइजेजले कोहलपुर नगर विकास समितिको दुई कट्ठा जग्गा १० वर्षका लागि मासिक २० हजार रुपियाँ भाडामा लिएको छ। गोरखापत्रबाट
प्रकाशित: २७ जेष्ठ २०७९, शुक्रबार