
काठमाडौं ।
चौधरी ग्रुप अन्तरगतको सीजी मोटर्सले नेपालमा उच्च गुणस्तर र सस्तो मुल्यमा इलेक्ट्रिक कार उपलब्ध गराएको छ। अत्याधुनिक फिचर्सहरूमा उपलब्ध चिनियाँ इलेक्ट्रिक कार निटा भीको मुल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ । निटा ब्रान्ड चिनको अग्रणी मोटर उत्पादक कम्पनी होजोन अटोमोवाइलले उत्पादन गर्दै आएको छ।
यसैबीच निटा भीको मूल्यका सम्वन्धमा सामाजिक सञ्जालमा भइरहेका केही टिकाटिप्पणीप्रति सीजी मोटर्स र कार उत्पादक कम्पनी होजोन अटोमोवाईलले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । बिहिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दुवै कम्पनीले यस सम्वन्धमा सुनियोजित रुपमा भ्रम श्रृजना गरि उपभोक्ताहरूलाई गुमराहमा पार्ने कोशिस गरिएको बताएका छन् ।
सामाजिक सञ्जालमा चिनियाँ बजारमा उपलब्ध मूल्यसँग तुलना गर्दै यसको मूल्य नेपालमा धेरै रहेको र आधिकारिक विक्रेताले उच्च नाफा राखेको जस्ता बिषयलाई प्रचार गरिएको कम्पनीको भनाई छ। उत्पादक र नेपालका लागि आधिकारिक विक्रेता दुवै कम्पनीले गलत नियतका साथ कसैले तयार पारेको कन्टेन्टले बजारमा भ्रम श्रृजना गर्ने कोशिस भएको भन्दै वास्तविकता सार्वजनिक गरेका हुन् ।
सामाजिक सञ्जालमा भ्रम श्रृजना गर्नुअघि विद्युतीय कारको मूल्य निर्धारण र उत्पादक देशमा उपलब्ध सेवा सुविधाबारे जानकारी हुनु अत्यन्त जरुरी रहेकोमा दुवै कम्पनीले जोड दिएका छन् ।
प्रेस विज्ञप्तिमा भनिएको छ– “नेपालमा सरकारले विद्युतीय कारमा आइसी इन्जिनयुक्त कारको तुलनामा कर सहुलियत दिएको छ। त्यसबाहेक अन्य कुनै सहुलियत उपलब्ध छैन। तर चीनमा भने सरकारले विद्युतीय कार खरिद गर्ने उपभोक्तालाई प्रत्यक्ष रुपमा नगद सहुलियत दिएको छ । यसरी दिइएको सहुलियत चिनबाट निर्यात हुने कारमा लागु हुँदैन । चीनमा विद्युतीय कार उत्पादक कम्पनीलाई चीनको केन्द्र सरकार र प्रान्तीय सरकारहरुले विभिन्न किसिमका छुट तथा सहुलियत दिएका छन् । जसका कारण उत्पादित वस्तुको मूल्य कम हुन्छ र त्यसको लाभ चिनियाँ उपभोक्ताले प्राप्त गर्छन् ।”
यसैगरी चीनले कार्बन उत्सर्जन कम गरेबापत विद्युतीय कारमा अतिरिक्त सुविधा दिँदै आएको तर यस्तो सुविधा नेपाल आउने कारले नपाउने कम्पनीले उल्लेख गरेको छ।
चीनमा बायाँ (लेफ्ट ह्याण्ड ड्राईभिङ) बाट गुड्ने गाडी प्रचलनमा रहेको तर नेपाललगायत अधिकांश एसियाली देशमा दायाँ (राईट ह्याण्ड ड्राईभिङ) बाट गाडी गुडाउने नियम रहेको भन्दै । आरएचडी गाडी डिजाइन गर्न आरएन्डडी (रिसर्च एन्ड डेभलप्मेन्ट) मा लगानी गर्नुपर्ने कम्पनीको भनाई छ।
त्यसैगरि नेपाली बजारमा उपलब्ध निटा भीको प्रतिस्पर्धी कारको तुलनामा यसको मूल्य (सीआइएफ भ्यालु) करिब समान नै रहेको छ । यसरी हेर्ने हो भने उक्त कारको नेपाली बजारमा मूल्यको तुलनामा निटा भीको बजार मूल्य २ लाख रुपैयाँ कम देखिन्छ ।
सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफुहरुले सम्भव भएसम्मको सस्तो मुल्यमा नेपाली उपभोक्तामाझ इलेक्ट्रिक कार उपलब्ध गराएको बताए ।
‘जसरी सीजी नेटको प्रवेशले नेपाली इन्टरनेट बजारको गुणस्तर, गति र मुल्य व्यापक रुपमा उपभोक्तामैत्री भयो त्यसैगरि इलेक्ट्रिक कारको मुल्य र गुणस्तरमा पनि नयाँ अध्याय शुरू हुने विश्वास हामीले लिएका छौँ’, चौधरीले भने।
उनले निटा भीको सेग्मेन्टमा नेपाली बजारमा उपलब्धमध्ये सबैभन्दा सस्तो कार भएको बताए।
होजोन अटोका निटा ब्राण्डका क्रसओभर कारहरु पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको कार भएकाले यो निक्कै इफिसियन्ट रहेको कम्पनीको भनाइ छ। यसअघि नेपालमा बिक्री हुँदै आएका अधिकांश विद्युतीय सवारीहरु आइसी (इन्टरनल कम्बस्चन) इन्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा बनाइएको सीजी मोटर्सको दाबी छ।
सीजी मोटर्सका मुख्य कार्यकारी अधिकृत हेमन्त अग्रवालले निटा भीमा उपलब्ध सुविधाहरूको तुलनामा यसको मुल्य निकै आकर्षक रहेको बताए । ‘सीजीको लक्ष्य इलेक्ट्रिक गाडीलाई नेपालमा प्रवर्धन गर्न सकियोस् र स्वदेशमै उत्पादीत विद्युत्को उपयोग र पेट्रोलियम पदार्थको खपत घटाई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन सकियोस् भन्ने हो’, अग्रवालले भने, ‘त्यसैले हाम्रो ध्यान तत्कालको मुनाफामा भन्दा दिर्घकालिन रुपमा आम उपभोक्ताको मन जित्न सकियोस् भन्नेमा छ।’
सीजी मोटर्सले उपभोक्तालाई विश्वस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउन उत्कृष्ट शाोरुम तथा वर्कसप र हाइवेहरु तथा देशका मुख्य सहरमा चार्जिङ नेटवर्क निर्माणलाई तीब्रताका साथ अगाडि बढाएको पनि जानकारी दिएको छ।
कम्पनीकाअनुसार निटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सियाटलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ। ब्याट्री फुलचार्ज हुन एसी चार्जरबाट ६ घण्टा (६.६ किलोवाट) लाग्छ भने डीसी फास्ट चार्जरबाट ८० प्रतिशतसम्म पुग्न जम्मा २० मिनेटमात्र लाग्ने छ । निटा भीले एक पटकको फुल चार्जमा ४ सय १ किलोमिटर रेन्ज दिन्छ।
निटा भीको अधिकतम गति १ सय १ किलोमिटर प्रतिघण्टा रहेको छ । निटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिईएको छ।
प्रकाशित: २७ जेष्ठ २०७९, शुक्रबार