
काठमाडौं ।
व्यास गाउँपालिका –१ तिङ्कर गाउँमा नेपाल टेलिकमको फोन सेवा सञ्चालनमा आएको छ । तिङ्करमा पहिलो पटक नेपाल टेलिकमको फोन सेवा सञ्चालनमा आएको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए।
नेपाल टेलिकमको एनटी सेट प्रविधिको माध्यमबाट दुईओटा लाईन फोन सेवा जोडिएको छ।
९९४९३००५० र ९९४९३००५१ नम्बरमा फोन गरेर तिङ्करमा सम्पर्क गर्न सकिने गरी सेवा सुचारु गरिएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण गुरुङले जानकारी दिए। नेपाल टेलिकम दार्चुलाका प्रमुख गुरुङ आफैले तिङ्कर पुगेर चीन नजिकको गाउँमा टेलिकमको एसटी सेवा सुचारु गरेका हुन्।
चीनसँग जोड्ने सीमाक्षेत्र र भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नजिकको वस्तीमा फोन सेवा नहुँदा स्थानीयबासी सास्ती खेपिरहेका थिए । फोन लाईन जडान भएपछि खुसी लागेको व्यास गाउँपालिका –१ का वडाअध्यक्ष अशोकसिंह बोहराले बताए।
व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले पालिकाको वडा १ को छाङरु र तिङ्करमै पुगेर जेठ ३१ गते कार्यपालिका बैठक बसाल्ने तयारी भइरहेको बताए । छाङरु र तिङ्करमा पुग्न जनप्रतिनिधिहरुले समेत भारतीय अनुमति लिएर भारतकै बाटो हुँदै जानुपर्ने बाध्यतामा छन् । गोरखापत्रबाट
प्रकाशित: २६ जेष्ठ २०७९, बिहीबार