नबिलले सार्वजनिक शौचालय सञ्चालन गर्ने

  • Technology Khabar | २५ जेष्ठ २०७९, बुधबार
नबिलले सार्वजनिक शौचालय सञ्चालन गर्ने

काठमाडौं ।

नबिल बैंकले काठमाडौँ महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरुका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने भएको छ ।

काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच सम्झौता भए संगै सर्वसाधारणले अब महानगरभित्र रहेका १८ शाखाहरुका शौचालयहरुलाई निःशुल्क रुपमा प्रयोग गर्न सक्नेछन् । नगर कार्यपालिकाको मिति २०७९ जेठ १६ को निर्णयानुसार सार्बजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाडौँ महानगरको आह्वान अनुरुप नबिल बैंकले आफ्नो एक्यबद्धता जनाएको हो ।

महानगरले शौचालय सार्वजनिक प्रयोगको लागि भएको सूचना सहितको संकेतबोर्ड प्रष्ट देखिने गरी बैंकका शाखाहरुमा उपयुक्त ठाउँमा जडान गर्नेछ ।

बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तर दायित्व अन्तर्गत स्वयंले गर्नेछ । साथै शौचालयको नियमित मर्मत, संभार र सरसफाई, पानीको प्रबन्ध, निकासको व्यवस्था दुरुस्त राख्नेछ । बैंकका अनुसार यो सम्झौता पाँच बर्ष अवधिको लागि गरिएको हो ।

नबिल बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाहले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने निती अनुरुप बैंकले पनि एक्यबद्घता जनाएको बताए ।

“नबिलको सँगै अघि बढौं भन्ने नाराका साथ हामी देश र जनताका लागि सधैं सँगै अघि बढि रहन्छौं । नबिल बैंकले दिगो बैंकिङको अवधारणा अनुरुप काठमाडौँको फोहोरमैला व्यवस्थापनमा पनि सहकार्य गर्नेछौं,” उनले भने।

महानगरले सञ्चालनमा आएका शौचालयको अनुगमन तथा मुल्याङ्कन प्रत्येक चार चार महिनामा गर्नेछ । यस सम्झौताले आम महानगरको सार्वजनिक शौचालयको सेवालाई चुस्त र व्यवस्थित गर्न मद्दत पुर्याउने सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेले बताए ।

प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार