
काठमाडौं ।
राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) को कार्यकारी निर्देशक बन्न माग गरिएको आवेदनमा १२ जनाले आवेदन दिएका छन्।
हाल रिक्त रहेको केन्द्रको कार्यकारी निर्देशक पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यहि जेठ १२ गते ईच्छुकहरुसँग आवेदन माग गरेको थियो।
यसअघिका कार्यकारी निर्देशक सुनिल पौडेललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाएपछि सो पद खाली रहेको छ।
केन्द्रको कार्यकारी निर्देशक इच्छुकहरुमा विनोद ढकाल, अनुप बाँस्कोटा, प्रदीप पौडेल, लक्ष्मीप्रसाद यादव, सुरेश कर्ण रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
यसका साथै अन्य आवेदकहरुमा नरेन्द्रबहादुर बोहरा, रामेश्वर सुवेदी, महेशकुमार यादव, रमेशप्रसाद जोशी, विश्वास खतिवडा, गुणानन्द पाठक र प्रदीपकुमार श्रेष्ठ रहेका छन्।
आवेदन दिनेहरुमध्ये विनोद ढकाल क्यान महासंघका पूर्व अध्यक्ष हुन् भने सुरेशकुमार कर्ण उनी भन्दा अगाडी अध्यक्ष हुन्।
अनुप बाँस्कोटा हाल लुम्बिनी प्रदेशको सञ्चार तथा सूचना प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा कार्यरत रहेका छन् । उनी यसअघि पनि केन्द्रमा कार्यकारी निर्देशक भईसकेका व्यक्ति हुन्।
आवेदकमध्ये लक्ष्मीप्रसाद यादव सूचना प्रविधि विभागको पूर्व महानिर्देशक हुन्।
त्यसैगरी नरेन्द्रबहादुर बोहरा केन्द्रका पूर्व बोर्ड सदस्य हुन् भने रमेशप्रसाद जोशी सर्वोच्च अदालतमा थिए।
रामेश्वर सुवेदी डीएभी इन्स्टिच्युट अफ आइटी कलेजका प्रिन्सिपल हुन्। महेशकुमार यादव पाटन क्याम्पसको कम्प्युटर विभागको विभागीय प्रमुख हुन्।
आवेदकहरुलाई मन्त्रालयको सिफारिस समितिले व्यवसायिक कार्ययोजना र अन्तर्वार्ता लिनेछ भने सोही आधारमा सरकार समक्ष नियुक्तिका लागि सिफारिस गरिनेछ।
मन्त्रालयले संभवत केहि दिनभित्रै सबै आवेदकहरुको नाम सार्वजनिक सूचना गरेर व्यवसायिक कार्ययोजना र अन्तर्वार्ताका लागि बोलाउने बताईएको छ।
केन्द्रका कार्यकारी निर्देशक पौडेललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाएपछि कामु कार्यकारी निर्देशकको जिम्मा सफल श्रेष्ठलाई दिईएको छ।
केन्द्रले सरकारको लागि सूचना प्रविधिको विज्ञ संस्थाको रुपमा काम गर्ने गर्दछ भने सरकारी डाटा सेन्टर समेत संचालन गर्दै आएको छ।
प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार