काठमाडौं ।
भरतपुर महानगरपालिकामा मंगलबारदेखि घरबाटै कर तिर्न सकिने गरी अनलाईन भुक्तानी प्रणाली सञ्चालनमा आएको छ।
महानगरपालिकामा अनलाइन भुक्तानी प्रणाली र डिजिटल बडापत्रको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो। महानगरप्रमुख रेनु दाहालले प्रणाली र बडापत्रको उद्घाटन गरिन्।
हरेक वडामा डिजिटल प्रविधिबाट काम गर्ने तयारीस्वरुप यो सेवा सुरु गरिएको महानगर प्रमुख दाहालले बताईन् । महानगरपालिका कार्यालयलाई पेपरलेस बनाउने योजनालाई यो सेवाले सहयोग पुराउने उनको भनाइ छ।
करदाताहरुले घरमै बसेर सहजतापूर्वक कर तिर्न सकून् भन्ने उद्देश्यसहित महानगरपालिकाले अनलाइन भुक्तानी प्रणाली सुरुवात गरेको बताईएको छ। अनलाइन भुक्तानी प्रणाली सुरु गरेसँगै सम्पत्ति कर, नक्सापास, राजश्व, बहाल कर लगायतका महानगरमा भुक्तानी गर्ने सबै प्रकारका करहरु घरबाट नै तिर्न सकिने भएको छ।
महानगर उपप्रमुख चित्रसेन अधिकारीले अनलाइन प्रणालीमार्फत सेवा लिन सबैलाई आग्रह गरे। उनले अनलाईन भुक्तानी प्रणालीको कार्य ऐतिहासिक कार्यको भएको बताए।
अनलाइन प्रणालीमार्फत आफुले तिर्नुपर्ने कर मूल्यांकन गरिसकेपछि आफुले प्रयोग गरिरहेको अनलाइन पेमेन्ट गेट वे प्रणालीबाट कर तिर्न सकिन्छ। इसेवा, खल्ती, कनेक्ट आईपिएसमार्फत भुक्तानी गर्न सकिने भएको छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले दर्ता चलानीलाई व्यवस्थित गर्न वैज्ञानिक प्रक्रियाबाट काम सुरु गरिएको बताए।महानगरलाई सुशासन र डिजटलमैत्री बनाउने घोषणापत्रमा उल्लेख गरेअनुसार पहिलो कार्यको थालनी गरिएको उनले जानकारी दिए।
प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार