
काठमाडौं ।
यातायात व्यवस्था विभागले जेठ २० गते इम्बोस्ड नम्बर प्लेटका सम्बन्धमा प्रकाशित गरेको सूचनाका सम्बन्धमा क्षमायाचना माग गरेको छ।
उक्त सूचना प्रकाशित भएसँगै सेवाग्राहीमा पर्न गएको दूविधा र त्यसबाट उत्पन्न भएको असुविधा प्रति यातायात व्यवस्था विभागले क्षमायाचना माग गरेको हो।
विभागको विज्ञप्तिमा लेखिएको छ, ‘२०७९ साउन १ गतेका दिन बिहान देशका सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान हुनुपर्छ भन्ने आसय विभागको अलिकति पनि होइन। विभाग यस विषयमा प्रष्ट छ कि दिइएको ४० दिनमा नेपालमा हाल दर्ता कायम रहेका सबै साधनमा त परै जावस् अहिलैकै गतिमा नम्बर प्लेट हुने हो भने सम्झौता बमोजिम परियोजनाले जडान गर्नुपर्ने २५ लाख सवारी साधनको केही प्रतिशत सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान हुन सक्ने देखिन्छ।’
गत कार्तिकको राजपत्रको सूचना बमोजिम जो जसले इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने थियो, ति सवारीमा यस्ता प्लेट जडान भएका छन् वा छैनन् भन्ने अनुगमन भने गर्नुपर्ने देखिएको विभागले भनेको छ।
विभागले ईम्बोस्ड नम्बर प्लेट उत्पादन तथा जडान सम्बन्धी परियोजनामा प्लेट उत्पादन तथा सवारी साधनमा जडान समम्मका सबै कार्यहरु डेकाटुर टाईगर आईटीले गर्ने र ५ वर्ष भित्रमा २५ लाख सवारी साधनमा यस्ता प्लेट जडान गरी सयसँग सम्बन्धित सबै संरचना नेपाल सरकारलाई हहस्तान्तरण गर्ने र नेपाल सरकारले सम्झौतामा उल्लेख भए बमोजिमको प्रति सेट प्लेटको मूल्य डेकाटुर टाईगर आईटीलाई भुक्तानी गर्ने भन्ने रहेको जानकारी दिएको छ।
विभागले हालको सूचना राज्यको दबाब नीति भएको समेत स्पष्ट स्वीकार गरेको छ।
“राज्यका नीति कार्यान्वयनका लागि मुख्यतः दुई रणनीति अबलम्बन गरिन्छ। पहिलो लाभ रणनीति र दोस्रो दबाब रणनीति हो। राज्यले नीति कार्यान्वयन गर्न अपनाउने पहिलो रणनीति लाभ रणनीति नै हो। लाभ रणनीति असफल वा अपेक्षाकृत नभएको अवस्थामा दबाब रणनीति अपनाउने गरिन्छ। ईम्बोस्ड नम्बर प्लेट जडान गर्ने सन्दर्भमा पनि यहि रणनीति कार्यान्वयनमा लयाईएको हो,” विभागले भनेको छ।
विभागले सवारी धनीहरुलाई चेतावनी दिँदै भनेको छ “ससंदले बनाएको कानूनमा स्पष्ट व्यवस्था भएको कानूनी प्रबन्धको कार्यान्वनयको अवस्था प्रति नागरिकलाई सुसूचित गराउनुलाई धम्कीको रुपमा बुझ्दै जाने हो भने राज्यका जुनसुकै कानून कार्यान्वयनमा कठिनाई उत्पन्न हुन जान्छ भन्ने विषयमा कोही कसैलाई दुबिधा नहोला।”
त्यसैगरी ईम्बोस्ड नम्बर प्लेट जडानको लागि आवश्यक सबै पूर्वाधार तयार गरि सकेर मात्र विभागले यो कार्यक्रम कार्यान्वयनमा ल्याएको जिकिर समेत गरेको छ। विभागले यसको लागि आवश्यक मात्रामा प्लेट उत्पादनको कार्य भएको समेत उल्लेख गरेको छ।
यसका साथै आरएफआईडी गेट नराखे पनि हुने विभागको दाबी छ।
“कतिपय मानिसले आरएफआईडी गेट नभएकोले यो जडान गर्नुको अर्थ छैन भनेको पनि सुनिन आएको छ। आरएफआईडी गेट ईम्बोस्ड नम्बर प्लेट जडानको लागि नभै नहुने पूर्वाधार होईन्। ईम्बोस्ड नम्बर प्लेट जडान गरिसकेपछि त्यसको उपयोगिता वृद्धि गराउने संरचना हो।” विभागले जिकिर गरेको छ।
हेर्नुस् पुरा विज्ञप्ति-
press2022-06-07_02-56-47-402प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार