यस्तो छ, इम्बोस्ड नम्बर प्लेटलाई ट्रयाक गर्न बनाइएको गेट

  • Technology Khabar | २४ जेष्ठ २०७९, मंगलवार
यस्तो छ, इम्बोस्ड नम्बर प्लेटलाई ट्रयाक गर्न बनाइएको गेट
फाइल तस्बिर

काठमाडौं ।

यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडित सवारी साधन ट्रयाक गर्न मुलुकका विभिन्न १० स्थानमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस (आरअफआईडी) गेट निर्माण गर्ने भएको छ।

विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुका अनुसार विभागले पहिलो चरणमा काठमाडौंको थानकोटमा आरएफआईडी गेट जडान गर्नेछ।

‘आरएफआईडी गेट सडकमा निर्माण गर्नु पर्ने हुन्छ। यसका लागि सडक विभागको स्वीकृति आवश्यक पर्छ। विभागले स्वीकृतिका लागि सडक विभागसँग समन्वय गरिरहेको छ। सडक विभागबाट स्वीकृति मिल्ने बित्तिकै थानकोटमा आरएफआईडी गेट निर्माण गरिन्छ।’

आरएफआईडी गेटका लागि आवश्यक सबै उपकरण विभागसँग उपलब्ध रहेकाले सडक विभागको स्वीकृति र स्थान पहिचान भएको ३, ४ दिनमा गेट निर्माण गरिन्छ।

नेपालमा इम्बोस्ड नम्बर आपूर्तिको जिम्मा पाएको डेकाटुर टाइगरले विभागलाई १० स्थानमा आरएफआईडी गेट जडान गर्ने उपकरण उपलब्ध गराइसकेको छ।

विभागमा रहेको आरअफआईडी गेट

हाल आरअफआईडी गेट विभागको कार्यालय भिनभवनमा मात्र जडान गरिएको छ।

विभागको आरअफआईडी गेट काठमाडौंको साँखु, भक्तपुरको जगाती लगायत उपत्यकाबाहिर इटहरी, कोहलपुर, ककनी, पथलैया, अत्तरियालगायतका स्थानमा जडान गर्ने योजना छ।

आरएफआईडी गेटमा रहेको एन्टेनाले इम्बोस्ड नम्बर जडान गरिएको सवारीमा राखिएको चिप्सलाई रेडियो फ्रिक्वेन्सी मार्फत् स्क्यान गरेर सवारीको सम्पूर्ण विवरण यातायात व्यवस्था विभागको कार्यालयको सर्भरमा पठाउँछ।

उक्त विवरणको आधारमा कुन सवारी कति समयमा कुन नाका काट्यो भन्ने जानकारी पाउन सकिन्छ।

इम्बोस्ड नम्बर प्लेट जडान गरिएका चारपांग्रे सवारीका अगाडिको सिसामा आरअफआईडी स्टिकर र दुईपांग्रे सवारीको पछाडिको नम्बर प्लेटमा ट्याग हुन्छ।

सवारीको इम्बोस्ड नम्बर प्लेटमा राखिएको ट्याग ट्रयाक गर्न गेटको अगाडि र पछाडि दुवैतर्फ आरअफआईडी एन्टेना राखिएको हुन्छ।

प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार