फोन गर्न रुख चढ्छन् लुमवासी

  • Technology Khabar | २४ जेष्ठ २०७९, मंगलवार
फोन गर्न रुख चढ्छन् लुमवासी

काठमाडौं ।

देशभर द्रुत गतिको इन्टरनेट सेवा पुर्याउने सरकारी नीति भए पनि मुगु जिल्ला सदरमुकाम वरपर सहज मोबाइल सेवाबाट समेत वञ्चित छन् । मोबाइल नेटवर्कले प्रभावकारी काम नगर्दा टेलिफोन सम्पर्कका लागि समेत अग्लो डाँडा र रुखमा चढ्नुपर्ने अवस्था छ।

जिल्ला सदरमुकाम गमगढी नजिकैका बाम र लुमगाउँंका स्थानीय बासिन्दा सहज सञ्चार सेवाबाट अझै वञ्चित छन् । छायाँनाथ रारा नगर पालिका–१३, लुमगाउँ र १४ वडाको बामगाउँका बस्तीमा नेपाल टेलिकमको बीटीएस टावर स्थापित भए पनि त्यसले सेवा दिएको छैन ।

बामगाउँका स्थानीय राजेन्द्र बुढाले फोन गर्नका लागि नगरपालिकाभित्रै विकट भएको दुःखेसो गरे ।

नेपाल दूरसञ्चार कार्यालय मुगुले थार्पलेकमा बीटीएस फोरजी टावरको निर्माण जारी राखेकाले अबको केही महिनापछि सहज फोन सम्पर्क हुने जनाएको छ।

नेपाल टेलिकम मुगुका निमित्त कार्यालय प्रमुख गणेश डीसीले टावर सञ्चालनमा आएपछि बाम, लुमगाउँका बस्तीले भोग्दै आएको समस्या समाधान हुने जानकारी दिए। उनले समयमै उक्त टावर सञ्चालनमा आउनुपर्ने भए पनि निर्माण कम्पनीले निर्माण सामग्री सम्बन्धित ठाउँमा ढुवानी गर्न ढिलाइ गरेकाले पूरा हुन नसकेको जानकारी दिए।

जिल्ला नागरिक समाजका संयोजक रुपबहादुर मल्लले सरकारले फोरजीबाट फाइभजी विस्तार गरेपनि दुर्गमका सर्वसाधारण नागरिकले फोन गर्नैका लागि रुख र डाँडामा चढ्नुपर्ने बताए। राज्यबाट दिन प्रतिदिन प्रविधिमैत्रीपूर्ण विकासका कुरा गरेपनि यसको अनुभूति नागरिकलाई नभएको उनको भनाइ छ । नागरिकको समस्या समाधानका लागि नेपाल टेलिकम संवेदनशील भई निर्माण सामग्री छिटो ढुवानी गर्नुपर्ने उनको भनाइ छ। गोरखापत्रबाट

प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...