
काठमाडौं ।
साझा यातायातको विद्युतीय बसको सडक क्षमता प्रतिवेदन तयार भएको छ।
यातायात व्यवस्था विभाग र साझा यातायातका प्रतिनिधि सम्मिलित समितिले प्रतिवेदन तयार गरिसकेको साझा यातायात सञ्चालक समितिका सदस्य भुषण तुलाधरले जानकारी दिए।
साझाले जेठको दोस्रो सातादेखि विद्युतीय बसको सडक क्षमता परीक्षण गरेको थियो। ८४ वटा सिमेन्टको बोरा र ८ यात्रु राखेर परीक्षण गरेको थियो। सोही परीक्षणलाई महत्वपूर्ण आधार मानेर समितिले प्रतिवेदन तयार गरेको छ।
परीक्षणको क्रममा बसमा केही समस्या नदेखिएको उनले जानकारी दिए।
उनका अनुसार समितिको प्रतिवेदन सम्भवत यही साता साझा यातायातको बार्डमा पेश हुनेछ।
‘प्रतिवेदन बोर्डमा पेश भएपनि सदस्यहरुको समय अनुकुलता हेरेर बैठकको मिती तय गरिने छ। यही साता वा अर्को साता बोर्ड बैठक बस्ने छ,’ उनले भने, ‘प्रतिवेदनको आधारमा बोर्डले बस सञ्चालन गर्ने वा नगर्ने निर्णय लिनेछ।’
बोर्डमा प्रतिवेदन पेश नभइसकेको अवस्थामा अहिले नै बस सञ्चालन हुन्छ कि हुँदैन भन्ने विषयमा उनले थप प्रतिक्रिया दिन चाहेनन्।
साथै, विद्युतीय बस सञ्चालनका लागि चालकहरुलाई तालिम दिन पनि बाँक छ। यो काम पनि बोर्ड बैठकसँगै अघि बढाइने उनले जानकारी दिए।
साझाले चीनको सीएचटीसी कम्पनीबाट पहिलो चरणमा ४० ओटा बस खरिद गर्ने योजना लिएको छ।
सोही योजना अनुरुप साझाले काठमाडौं उपत्यका सञ्चालन गर्नका लागि पहिलो चरणमा ३ वटा विद्युतीय बस ल्याएर परीक्षण गरेको हो। यो परीक्षण सफल भएमा थप विद्युतीय बस नेपाल भित्र्याएर साझाले सेवा दिनेछ।
साझा यातायातले २०७७ चैत १३ गते ४० वटा विद्युती बस खरिदका लागि ग्लोबल टेण्डर आह्वान गलाई रेको थियो। साझाविद्युतीय बस बिक्री गर्नका लागि ९ ओटा चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेका थिए। तीमध्ये सीएचटीसी किनवेन (नान्जिङ) कम्पनी छनोट भएको थियो।
प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार